पुस२९,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नं ८ स्थित श्री गौरीशंकर मावि एसएलसी ब्याच २०४९ फाउण्डेशनले आफ्ना गुरुहरुलाई सम्मान गरेको छ।फाउण्डेशनले शनिबार मित्र मिलन कार्यक्रमको आयोजना गरि आफुहरुलाई दिक्षित बनाउने गुरुहरुको सम्मान गरेको फाउण्डेसनका सचिव दीपक खड्काले बताए।
निजगढ ४ स्थित पर्यटकीय स्थल मोहोरीमा आयोजित कार्यक्रममा आफुहरुलाई पढाउने गुरुहरु कृष्णप्रसाद उपाध्याय,सुदर्शनप्रसाद कोइराला,हरिनारायणलाल कर्ण,गंगाप्रसाद साह,नारायणप्रसाद लामिछाने,रामकुमार शर्मा दाहाल तथा नागेन्द्रप्रसाद साहलाई फाउण्डेसनका महिला सहपाठीहरुले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए।
साथै उनिहरुले जनप्रतिनिधि बनेका आफ्ना दुई सहपाठीहरु रामचन्द्र कटुवाल र आशाकाजी श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरेका थिए। २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कटुवाल वडा नं ९ र श्रेष्ठ वडा नं १० को वडाध्यक्षमा निर्वाचित भएका हुन्।
कार्यक्रममा लामो समयपछी भेटघाट भएका सहव्याचीहरुले हार्दिकताका साथ खुसी साटासाट गरेका थिए। २०७४ साल फाल्गुण ५ गते मकवानपुरको कुलेखानिमा सहब्याचिहरु भेला भै स्थापना भएको फाउण्डेशनले वर्षेनी मित्रमिलन कार्यक्रम गर्दै आएको छ।
फाउण्डेशनले आगामी दिनहरुमा पनि मित्रमिलन कार्यक्रमलाई निरन्तरता दिने सचिव खड्काले बताए। साथै फाउण्डेशनले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक कार्यमा अग्रसर हुने पनि उनको भनाई छ।
२०४९ सालमा एसएलसी दिने बेला करीब १सय ५० जना सहपाठी रहेका खड्काले स्मरण गरे। अहिले भने फाउण्डेशनको सम्पर्कमा १ सयको हाराहारीमा रहेका छन्। कार्यव्यस्तता तथा जानकारी अभावका कारण सम्पर्कमा नआएका साथिहरुलाई फाउण्डेशनको सम्पर्कमा ल्याउने प्रयत्न गरिरहेको खड्काले बताए।





