माघ १८,नेपाल। नेपाल आयल निगमले चार प्रकारका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले दैनिक जिवनमा अत्यावश्यक पर्ने डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाउने निर्णय गरेको हो ।
डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । त्यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुने छ इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनवरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको थियो।
नयाँ मूल्यसूची अनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।





