माघ १९, काठमाडौं । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको हो ।
क्लबले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै अफिसियल फेसबुक पेजमा भिडियो पनि पोष्ट गरेको छ । त्यसमा सावित्राले पनि फ्रेन्च लिग खेल्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् ।
सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरेकी थिइन् । मेडिकल पास भएपछि क्लबले अनुबन्ध गरेको खबर सार्वजनिक गरेको होे ।
नेपालका लागि सर्वाधिक गोलकर्ता सावित्राले यसअघि इजरायलको हापोएल रानानाबाट लिग खेल्दै युरोपियन फुटबलको स्वाद लिइसकेकी छन् । इजरान एसियन राष्ट्र भएपनि त्यहाँको क्लबले भने युरोपियन लिग खेल्दै आएको छ । अब भने सावित्राले पुरापुर युरोपकै लिग खेल्नेछिन् ।
सावित्रा अनुबन्ध हुन लागेको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ । लिगमा कूल १२ टोलीले खेलिरहेका छन् ।
नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् । नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन् र उपाधि पनि जितेकी छन् ।

इजरायलको लिग खेल्दै युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी सावित्रा प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वका कारण लिग रोकिँदा बीचमै नेपाल फर्केकी थिइन् । झण्डै चार महिनाको अन्तरालमा उनले अर्को उडान भर्दैछिन् ।अनलाईन खबर।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय