माघ २१। भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेविरूद्ध उजुरी दर्ता भएको छ। पाठेघर क्यान्सरका कारण आफ्नो निधन भएको झुटो खबर फैलाएको भन्दै उनीविरूद्ध मुम्बईमा उजुरी दर्ता भएको हो। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार अधिवक्ता अली काशिफ खान देशमुखले पूनमविरूद्ध उजुरी दर्ता गरेका हुन्।
देशमुखले पूनमको म्यानेजर निकिता शर्मा र एजेन्सी हटरफ्लाईविरूद्ध पनि उजुरी गरेका छन्। उनले आईपिसी सेक्शन ४१७, ४२०, १२० बी, ३४ अनुसार कारबाही गर्न माग गरेका छन्।
पूनमले शुक्रबार आफ्नो निधन भएको भन्दै झुटो जानकारी दिएकी थिइन् तर एकदिनपछि आफू जिवितै रहेको पनि बताएकी थिइन्। पाठेघर क्यान्सरको बारेमा सचेतना फैलाउनको लागि यस्तो झुट बोलेको भन्दै उनले भिडीयोमार्फत जानकारी दिएकी थिइन्।





