माघ २७,हेटौंडा ।आजको वैज्ञानिक युगमा शिक्षा भन्दा शक्तिशाली विद्या अरु केही छैन।तर मकवानपुरमा पढ्ने लेख्ने उमेरका कलिला दुई बालकहरु अहिलेको समाजले रुढीबादी संस्कारको रुपमा लिएको झाँक्री(तान्त्रिक)विद्या सिक्दै गरेका भेटिएका छन्।
मकवानपुरको मनहरी गाउँपालिकाका चेपाङ समुदायका दुई बालक झाँक्री विद्या सिक्दै गरेका भेटिएका हुन्। गाउँपालिकाको वडा नं ७ स्थित तल्ला शिविरका बालकहरु ११ वर्षिय प्रमोद प्रजा र १० वर्षीय ईशान प्रजा मनहरी महोत्सव स्थलमा झाँक्री विद्या सिक्दै गरेका भेटिए।
बालकहरु मनहरीमा जारी पाँचौ मनहरी महोत्सव स्थल प्रवेशद्वारको दाहिनेपट्टि खर र कांसले घेराबेरा गरेको सानो छाप्रो (गुफा) भित्र स्थानीय झाँक्री जीतबहादुर प्रजासँग गुरु थापिरहेका छन्।पङ्तिकार त्यहाँ पुग्दा ती बालकहरु ढ्याङ्रो ठोकेर फलाक्दै गरेका थिए। उनिहरुले ७÷८ दिनअघि देखि त्यही छाप्रोमा ढ्याङ्रो ठोकेर बसेको बताए।
१० वर्षीय बालक ईशानले ममिले पटक पटक विद्यालय भर्ना गरिदिएको भएपनी ममिलाई छक्क्याएर पढ्न नजाने गरेको बताए।
‘ममिले ५÷६ चोटि भर्ना हाल्नुभो ,तैपनि म पढ्न गइँन,झाडिमा लुकेर बस्थें, स्कुल छुट्टि भएसी घर आउँथे।’ उनी भन्छ्न्।
अर्का ११ वर्षीय वालक प्रमोद भने स्कुल ड्रेस नभएर पढ्न जान छोडेको बताउँछन्।उनले आफु कक्षा २ सम्म स्थानीय विद्यालयमा पढेको बताए।
झाँक्री विद्या सिकेर रोगी मान्छेलाई फुक्ने,फलाक्ने अनि निको पार्ने उनिहरुको भविष्यको योजना छ। गरिबी र चेतना अभावका कारण पढ्ने लेख्ने उमेरका यी बालकहरु झाँक्री विद्यातर्फ आकर्षित भएका सहजै अनुमान लाउन सकिन्छ।

झाँक्री गुरु जीतबहादुर।
उता मूख्य झाँक्री जीतबहादुरले आफुकहाँ धेरै मान्छे झारफुक गर्न आउने गरेको र उनिहरु निको पनि भएको बताउँछन्।अस्पतालको औषधिले ठिक नभएका बिरामिहरु आफुले शतप्रतिशत निको पार्ने उनको दाबी छ।उनको गुफामा हेराउन आउनेहरुले पनि आफ्ना बिरामी निको भएको विस्वास व्यक्त गरे।



