फागुन २,हेटौंडा। गएराति मकवानपुरको छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँका धनमाल जलेर नष्ट भएको छ । जिल्लाको हेटौंडा उपमहानरपालिका वडा नं.१८ बड्कुले र बकैंया गाउँपालिका वडा नं.६मोरङभात बुर्जाडाडाँमा आगलागी भएको हो ।
बड्कुलेमा जस्ताले छाएको ईटाको गारो र काठको टाँड भएको घरमा बिजुली सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
आगलागीबाट धान, चामल, मकै, धानकुट्ने मिल, मकै पिन्ने मिल, लत्ताकपडा तथा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै बकैंयाको बुर्जाडाडाँमा स्थानीय ७० बर्षीय नीरबहादुर वाईबाको खरले छाएको एक तल्ले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरमा बच्चाहरुले आगो खेल्ने क्रममा अचानक आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट घर नजिक रहेको बाख्राको खोर जलेर नष्ट हुँदा खोरमा रहेका ५ वटा बाख्रा पनि जलेर मरेका छन्।
आगलागीबाट घरभित्र रहेको अन्नपात, भाडावर्तनसहित नगद ५ हजार रुपैँया पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगो स्थानीयको सहयोगमा नियन्त्रण लिईएको थियो । आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन ।



