फागुन ४,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँका दरले भाउ बढाएको हो ।
भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत नै रहेको जनाएको छ ।
निगमले यसअघि गत माघ १८ गते डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढाएको थियो।





