फागुन ४,निजगढ ।नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले निजगढ नगरपालिकाका विभिन्न ८ओटा संघसंस्थालाई बक्यौता रकम भुक्तानी गर्न ताकेता गरेको छ।
केन्द्रले विहीबार निजगढ प्रसुती गृह,जनस्वास्थ्य कार्यालय निजगढ,भरतगंज सडक बत्ती,रतनपुरी सडक बत्ती,रतनपुरी हेल्थ पोष्ट,ईलाका वन कार्यालय निजगढ,दुग्ध उत्पादक सहकारी संस्था निजगढ र उपस्वास्थ्य चौकी निजगढलाई २०८० फागुन ३ गते सम्मको बक्यौता रकम यथाशीघ्र भुक्तानी गर्न मधेश प्रदेश प्रादेशिक कार्यालय,जनकपुर र निजगढ नगरपालिकाको कार्यालयलाई बोधार्थ जनाई पत्र काटेको हो।
केन्द्र प्रमुख रुमेश रुपाखेतिद्वारा हस्ताक्षरित पत्र अनुसार सबैभन्दा बढी बक्यौता महशुल निजगढ–९मा संचालित सामुदायिक प्रसुती गृहको देखिएको छ । प्रसुती गृहले फागुन ३ गते सम्म १६ लाख ८० हजार २ सय ९६ रुपैयाँ २८ पैसा बक्यौता तिर्न बाँकी छ।


त्यस्तै जनस्वास्थ्य कार्यालयले १३ लाख २२ हजार १७९ रुपैयाँ,भरतगंज सडक बत्तीले ६ लाख ६७ हजार ५४० रुपैयाँ ४६ पैसा,रतनपुरी सडक बत्तीले ४ लाख ६८ हजार २१६ रुपैयाँ १४ पैसा,रतनपुरी हेल्थपोष्टले १ लाख ४० हजार ३५० रुपैयाँ २६ पैसा,ईलाका वन कार्यालयले १४ हजार ७६८ रुपैयाँ १९ पैसा, दुग्ध उत्पादक सहकारी संस्थाले १४ हजार ४६१ रुपैयाँ १८ पैसा तथा उपस्वास्थ्य चौकीले ७ हजार ३६१ रुपैयाँ ६४ पैसा गरि कुल ४३ लाख १५ हजार १७३ रुपैयाँ १५ पैसा बक्यौता रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले पत्र जारी भएको मितिले २ महिना भित्र बक्यौता महसुल नतिर्ने ग्राहकहरुको विद्युत लाईन काटिदिने पनि चेतावनी दिएको छ।





