फागुन २१,हेटौंडा । भिरमा फुलेको फुल र पिरमा चलेको जिन्दगीको के अर्थ? यस्तै आशय बोकेको एउटा गीत यतिखेर नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा छ।
‘फुल फुलेर के गर्नु भिरैभिरमा छ,
जिन्दगी चल्न त चल्या छ पिरैपिरमा छ।’
गायक तथा संगीतकार भुपेन्द्रबहादुर पाण्डे उर्फ भुपु पाण्डेको शब्द,संगीत तथा स्वरमा बजारमा आएको यो गीत अहिले सर्वाधिक रुचाईएको छ।
लोकलयमा तयार पारिएको गीतका शव्दहरुले नेपाली युवाहरुको विद्यमान समस्या र देशको वर्तमान परिस्थिति उजागर गरेको छ भने देशप्रेम पनि दर्शाएको छ।
‘एयरपोर्टमा हजुर मान्छेको ताँती,
देशै रित्तो हजुर हुने भो ए साथी।’
‘एउटै डर हजुर लाग्दछ बेस्कनी,
छिमेकीले हजुर लान्छ कि देश पनि।।’
गीतका हरेक शब्दहरु मर्मस्पर्शी छन्।शब्दले आम नेपालीको भावना चित्रण गरेको भान हुन्छ।
‘गाह्रो भयो हजुर खुलेर हाँस्नलाई,
बेरोजगारी हजुर भएर बाँच्नलाई।’
‘चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमि छ।’
‘फुल फुलेर के गर्नु भिरैभिरमा छ
जिन्दगी चल्न त चल्या छ पिरैपिरमा छ।’
मदिरा सेवन गरि सवारी चलाउन हुँदैन भन्ने सन्देशसहितको म्युजिक भिडियो निकै ’अर्ग्यानिक’ लाग्छ।गीतका शब्द र भिडियो मार्फत नेपाली युवाहरुको वास्तविक जीवन गाथा उतारिएको छ।
गायक पाण्डेको आफ्नो गाउँ दाङको देउखुरीमा छायांकन गरिएको भिडियोमा आफ्नै गाउँका १४ जना साथी मिलेर वनभोजमा रमाईलो गर्दै खाएको,पिएको अनि घर फर्कने क्रममा मोटरसाइकल दूर्घटनामा परि एकजनाले ज्यान गुमाउनु परेको दृश्य देखाईएको छ।
१० मिनेट लामो म्युजिक भिडियो एक पटक हेरेर चित्त बुझ्दैन।थुप्रै दर्शक श्रोताहरुले पनि गीत दर्जनौं पटक हेरेको भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।धेरैले मेरै कथालाई गीतमार्फत प्रस्तुत गरिएको रहेछ भनेर पनि प्रतिक्रिया दिएका छन्।
गायक पाण्डेले आफ्नै युट्युव च्यानल भुपु पाण्डेबाट गीत रिलिज गरेका हुन्। गीतले रिलिज भएको १० दिनमा १८ लाख बढि भ्युज् पाईसकेको छ ।

गायक पाण्डेले यो एकादेशको कथा नभै आफ्नै गाउँ समाजको कथा गीतमार्फत प्रस्तुत गरिएको बताएका छन्।उनले दृश्यमा देखाईएको मादक पदार्थ सेवन र धुम्रपान प्रचार नभएको पनि उल्लेख गरेका छन्।उनले भिडियोलाई वास्तविक रुप दिन उक्त दृश्यहरु देखाउनु परेको भनेका छन्।
‘यो एकादेशको कथा होइन, हाम्रै गाउँको कथा हो, हामी युवाहरुको आजको व्यथा हो, मनको पिर ओठले बोलेको सानो गाथा हो ।’ गायक पाण्डे भन्छन्।
‘कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनुपरेको नशालु धुवाँ र झोल हाम्रो प्रचार होइन ।
मापसे गरेर सवारी नचलाऔँ, देश पनि मापसे गरे जसरी नचलाऔँ ।
बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ।’

को हुन् भुपु पाण्डे?

दाङको राप्ती गाउँपालिका सिसहनिया –५ मा विक्रम सम्वत २०४३ साल श्रावण २४ गते जन्मिएका भुपु सानै देखि संगीतमा रुचि राख्थे। गाउँकै स्कुलमा एसएलसी दिएपछि संगीत नै सिक्न भनेर उनी काठमाडौ हानिए।२०६२ सालमा काठमाडौको आरआर क्याम्पसबाट औपचारिक साधना शुरु गरेका पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर गरेका छन्।
गायन र कम्पोजिसनको अलावा उनी ड्रम,मादल लगायतका वाद्ययन्त्र बजाउन पनि सिपालु छन्।
भूपूले काठमाडौंमा संघर्ष गरेको झण्डै दुई दशक हुन लाग्यो। काठमाडौंका अधिकांश गल्ली उनले खुट्टाले नै नापेका छन् । एउटै गल्ली कतिपटक एउटै आशा र सपनाको कोपिला मनभरि बोकेर नापेका छन् । दिन, महिना, वर्ष हुँदै दशक बिते, तर सपना फक्रिएन । बरु, ओईलाएर गए । भुपु संघर्षका दिनहरु सम्झन्छन् । महत्वाकांक्षी सपना बुनेर काठमाडौमा दशकौंसम्म टिक्नु मोफसलका मानिसहरुका लागि सामान्य कुरो होईन ।
तर संगीतमा केही गरिछाड्ने अठोटका कारण उनले हिम्मत हारेनन्। उनी देशका विभिन्न स्थानमा हुने पुराण,सप्ताह आदि धार्मिक कार्यक्रममा भजन गाउन थाले,ड्रम बजाउन थाले।उक्त कार्यक्रमबाट आउने पैसाले उनले जिवनयापन सहज बनाउँदै गए।
बिस्तारै संगीतमा पोख्त बन्दै गएका पाण्डेले संगीत भर्न थाले। शिव परियार,प्रमोद खरेल,मेलिना राई,प्रविशा अधिकारी ,रचना रिमाल,सुजता वर्मा र मेलिना मैनाली जस्ता चर्चित गायक गायिकाहरुले उनको संगीतमा गीत गाएका छन्।
आफ्नो सिर्जनाले स्थान पाउन थालेपछी भने आर्थिक बोझ केही घटेको उनले समाचार क्लवसँगको कुराकानीमा सुनाए। पछि आफैले निकालेको एल्बमका गीतहरु चल्न थालेपछी उनी हौसिए।
उनले मोक्षपथ नामक भजन संग्रह र मायावी नामक गीति एल्बम प्रकाशन गरेका छन्।मायावी एल्बममा रहेको चम्पा र जाँदाजाँदै वन्दिपुर बोलको गीतले उनलाई दर्शक श्रोतामाझ ‘नोटिस’ गरायो।पछि सिंगल ट्र्याकका रुपमा बजारमा आएको छोटो छ जिन्दगी,फोटो खिचेर राख गीत चलेपछी उनलाई दर्शक श्रोता माझ झनै चिनायो। ती गीतहरुलाई युट्युवमा ६० लाख पल्ट भन्दा बढी हेरिएको छ।
आफ्नै शब्द,संगीत र स्वरमा हालसालै बजारमा ल्याएका पिरैपिर बोलको गीतले भने उनलाई आमरुपमा चिनाईरहेको छ। आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका पिरैपिर १० दिनमा १८ लाख भन्दा बढी पल्ट हेरिएको छ।
‘मेरा अन्य गीतहरु चम्पा,जाँदाजाँदै वन्दिपुर र छोटो छ जिन्दगी फोटो खिचेर राख पनि भ्युजको हिसाबले हिट छन्,
तर पिरैपिरले भने आम दर्शक श्रोताको ध्यान खिच्यो।’ उनी भन्छ्न्। पिरैपिरले नेपाली माटोको सुगन्ध बोकेको छ,हरेक नेपालीको व्यथा सुनाएको छ।त्यसैले पनि यो गीतले सबै नेपाली दर्शक श्रोताको ध्यान खिच्न सफल भएको उनी बताउँछन्।
हालसम्म जम्माजम्मी ५ दर्जन गीत गाएका पाण्डेको संगीतप्रतिको लगाव, मिहेनत र उनको सिर्जनशील क्षमता हेर्दा उनको सांगीतिक भविष्य फराकिलो र उज्यालो देखिन्छ।





