फागुन २२, विराटनगर । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या भएको छ ।
खोटाङको ऐसेलुखर्क-६ घर भएकी १५ वर्षिया बालिका ज्ञानुकुमारी राईको हत्या भएको हो। उनी पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी थिईन्। दुई वर्षदेखि दाजुको घरमा बसिरहेकी उनी पथरी मै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिईन्।
प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ । कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताए । हत्याको कारण र संलग्नको पहिचान भने नभएको प्रहरीले जनाएको छ।



