फागुन २२,हेटौंडा ।हेटौंडामा नवौं संस्करणको ८–ए साईड भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । हेटौंडा–५स्थित पिप्ले रंगशालामा मंगलबार प्रतियोगिताको उद्घाटन गरिएको छ। प्रतियोगीता हेटौंडा भेट्रान्सले आयोजना गरेको हो ।हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख बानियाँले उपमहानगरले खेलक्षेत्रको प्रवर्द्धनका लागी अधिक्तम बजेट बिनियोजन गरेको बताए।
उपमहानगरले खेल प्रवर्द्धनसँगै स्थानिय स्तरबाट खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताए।
हेटौंडा भेट्रान्सका कार्यवाहक अध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सबिन न्यौपाने,वडा नं ६ का विष्णुबहादुर दाहाल,५ का सुशील घिमिरे,वडा नं १४ का दीपक खड्का,एन्फा मकवानपुरका अध्यक्ष टीका लामा,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता थियो।
एकैदिन ५ खेल सम्पन्न
प्रतियोगिताको पहिलो दिन ५ ओटा खेल सम्पन्न भएको छ । मंगलबार बिहान ९ बजेदेखी शुरु प्रतियोगिता अपरान्ह ५ बजेसम्म चलेको थियो। विभिन्न १० भेट्रान्स टिमको प्रतिस्पर्धामा ५ टिम अर्को चरणमा प्रवेश गरे भने ५ टिम घर फर्केका छन्। नागस्वती भेट्रान्स हेटौंडाले, बौद्ध भेट्रान्स,काठमाडौलाई १–५, बानेश्वर फ्रेन्डस् काठमाडौले अभिषेक चर्च,नवलपरासीलाई ०–३, पशुपति भेट्रान्स हेटौंडाले थारु भेट्रान्स,बारालाई ०–२, चितवन भेट्रान्सले सिमरा भेट्रान्स बारालाई १–३ र हेटौंडा भेट्रान्स ‘बि’ले एनजेजेवाईसी सिमरालाई ०–१ गोल अन्तरले पराजित गरेको छ।
प्रतियोगितामा नागस्वतिका निमा लामा,बानेश्वर फ्रेन्डसका महेन्द्र विस्वास खवास,पशुपति भेट्रान्सका सुबोध ढुंगेल,चितवन भेट्रान्सका रविन्द्र श्रेष्ठ र हेटौंडा भेट्रान्स ‘बि’ का संजय थापा “ म्यान अफ द म्याच घोषित भए।




प्रतियोगिता अन्तर्गत बुधबार पनि ४ ओटा खेल संचालन हुनेछन् ।प्रतियोगिताको पहिलो खेल बिहान १० बजे नागस्वती भेट्रान्स हेटौंडा र एबिसी भेट्रान्स पोखराबिच हुनेछ। त्यस्तै दोश्रो खेल वीरगंज सिटि भेट्रान्स र काठमाडौ ट्रीकर्स बिच १२ बजे,हेटौंडा भेट्रान्स ‘ए’ र हरिवन भेट्रान्स सर्लाहीबिच १ बजे तथा चितवन भेट्रान्स र बानेश्वर फ्रेन्डसबिच २ बजे खेल संचालन हुने आयोजक हेटौंडा भेट्रान्सका संयोजक प्रशान्त पाख्रीनले जानकारी दिए।
देशभरिका १८ भेट्रान्स टिमहरुको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल फागुन २६ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताभरी मकवानपुर सहकारी अस्पतालले खेलाडीहरुका लागि खेलमैदानमै निशुल्क प्राथमिक स्वास्थ्यशिविर संचालन गरेको छ।
प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र ,उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा विधागततर्फ उत्कृष्ट गोल किपर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।



