फागुन २४,हेटौंडा । काठमाडौ र पोखराका दुई÷दुई भेट्रान्स टिम हेटौंडामा जारी नवौं संस्करणको ८–ए साईड भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनल प्रवेश गरेको छ।
काठमाडौको बानेश्वर फ्रेन्डस् र किङकम तथा पोखराको एबिसी र बगरभाई खलक प्रतियोगीताको सेमिफाइनल प्रवेश गरेको हो।
पिप्ले क्याम्पा रंगशालामा बिहिबार भएको क्वार्टरफाईनल खेलमा बानेश्वर फ्रेण्डस भेट्रान्सले चितवन भेट्रान्सलाई ट्राईब्रेकरमा पराजित गर्यो। त्यस्तै किङकम भेट्रान्सले हेटौंडा भेट्रान्स ‘बि’ लाई ०–२ , एबिसी भेट्रान्स पोखराले पशुपति भेट्रान्स हेटौंडालाई ट्राईब्रेकरमा १–३ तथा बगरभाई खलक पोखराले काठमाडौ किकर्सलाई ०–२ गोल अन्तरले पराजित गरेको हो।

बगरभाई खलक पोखरा भेट्रान्सका खेलाडीहरु।
सेमिफाइनल प्रवेश गरेका बगरभाई खलकका धनकुमार गुरुङ ,किङ्कम काठमाडौका विपिन शाह,एबिसी पोखराका गोलकिपर सूर्य शर्मा तिमल्सिना तथा बानेश्वर फ्रेण्डसका गोलकिपर प्रजित तण्डुकार ‘म्यान अफ द म्याच’ घोषित भए।

काठमाडौ किङकमका उत्कृष्ट खेलाडी घोषित बिपिन शाहलाई आयोजक हेटौंडा भेट्रान्सका सचिव कबिन साङ्गामी ट्रफी प्रदान गर्दै।

बगरभाई खलकका उत्कृष्ट खेलाडी घोषित धनकुमार गुरुङलाई हेटौंडा(६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल ट्रफी प्रदान गर्दै।
शुक्रबार पहिलो सेमिफाइनल खेल एबिसी पोखरा र किङकम काठमाडौ तथा अर्को खेल बानेश्वर फ्रेण्डस् र बगरभाई खलक पोखरा बिच हुनेछ। खेल दिउँसो १ बजे देखि शुरु हुने आयोजक हेटौंडा भेट्रान्सका संयोजक प्रशान्त पाख्रीनले जानकारी दिए।
४० मिनेट समय निर्धारण गरिएको खेलमा ४५ वर्ष उमेर कटेका खेलाडी मात्र सहभागी हुन पाईने प्रावधान राखिएको छ।
प्रतियोगितामा देशभरिका १८ भेट्रान्स टिमहरुले सहभागिता जनाएका थिए। प्रतियोगिताको फाईनल खेल फागुन २६ गते शनिबार हुनेछ।

काठमाडौ किकर्स भेट्रान्सका खेलाडीहरु।
प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र ,उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा विधागततर्फ उत्कृष्ट गोल किपर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
मकवानपुर सहकारी अस्पतालले खेलाडीहरुका लागि खेल मैदानमा निशुल्क प्राथमिक स्वास्थ्यसिविर संचालन गरिरहेको छ।



