फागुन २४, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका स्थित एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
वडा नम्बर ११ स्थित मालागिरीका सुरेन्द्र लामाको ढुङ्गा, माटो र जस्तापाताले बनेको कच्ची घर आगलागीमा परेको हो। आगलागीबाट घरमा रहेको १ तोला सुन,१ लाख ३६ हजार रुपैयाँ नगद तथा अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
विहिबार अपरान्ह ४ बजेर २० मिनेट जाँदा घरमा अचानक आगलागी हुँदा घरमा रहेको ग्यास सिलिण्डर पनि पड्किएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय पालुङ,नगरपालिकाको दमकल र स्थानियको सहयोगमा ५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिईएको थियो।
आगलागीबाट घर पूर्णरुपमा क्षती भएपनी मानवीय तथा पशु चौपायामा कुनै क्षती भएको छैन।
आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



