फागुन २५,निजगढ । बारा जिल्लाका सार्वजनिक ठाँउहरुमा चर्को स्वरले डिजे नबजाउन जिल्ला प्रहरी कार्यालय बाराले अनुरोध गरेको छ।
कार्यालयले बिहिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै जिल्लाका बाटोघाटो,राजमार्ग ,चौर आदि सार्वजनिक ठाँउहरुमा चर्को स्वरले डिजे नबजाउन अनुरोध गरेको हो।
चर्को ध्वनी निकालेर डिजे साउण्ड सिस्टम बजाउँदा नागरिकको जनस्वास्थ्यमा जोखिम बढेको, मानसिक तथा सामाजिक समस्या उत्पन्न भएको,सामाजिक तनाव तथा द्वन्दको वातावरण सिर्जना भै झैझगडाका घटनाहरु बढेको जनगुनासो व्यापकरुपमा आएको बिज्ञप्तीमा जनाईएको छ।
चर्को ध्वनिका कारण मानसिक समस्यामा वृद्धि हुने,गर्भवती महिलाहरुको गर्भ खेर जान सक्ने,मुटु रोगिहरुलाई समस्या बढ्ने,कान सुन्ने क्षमतामा कमि आउने,वृद्ध बृद्दाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने,बालबालिकाहरुमा अनिद्रा र बेचैन हुने,सामाजिक सद्भावमा खलल पुग्ने,अस्पतालका बिरामी र विद्यालयका विद्यार्थीहरुमा समेत असर पर्ने बिज्ञप्तीमा जनाईएको छ।
तसर्थ प्रहरीको अनुरोधलाई अटेर गरि चर्को स्वरमा डिजे बजाएर समाजमा प्रतिकुल असर पर्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपानेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ।
मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद ५ को दफा ११२ अनुसार अधिकार प्राप्त अधिकारीको ईजाजत बिना कुनै यान्त्रिक साधनबाट ध्वनी प्रदुषण गर्ने वा गराउनेलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने तथा वातावरण संरक्षण ऐन २०७६ को परिच्छेद ३ को दफा १५ को उपदफा १ बमोजिम पनि कुनै स्थान वा मालवस्तुबाट हुने प्रदुषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई न्युनतम ५ लाख देखि ५० लाखसम्म जरिवाना वा क्षतिपूर्ति भराउने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय