फागुन२५,हेटौंडा । काठमाडौ बानेश्वरका दुई टिम हेटौंडामा जारी नवौं संस्करणको ८–ए साईड भेट्रान्स रनिङ शिल्ड प्रतियोगिताको फाईनल प्रवेश गरेको छ। किङकम भेट्रान्स बानेश्वर र बानेश्वर फ्रेण्डशिप भेट्रान्स थापा गाउँ, बानेश्वर प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो।
पिप्ले क्याम्पा रंगशाला हेटौंडामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा किङकम काठमाडौले एबिसी पोखरालाई ०–१ गोल अन्तरले पराजित गरि फाईनल यात्रा तय गरेको हो।
खेलमा किङकम भेट्रान्सका खेलाडी जगत लामा (माईला) ‘म्यान अफ द म्याच’ घोषित भए।
माईलालाई हेटौंडा उपमहानगरपालिका–५ का वडा सदस्य ज्ञानबहादुर थापाले ट्रफी प्रदान गरे।
सातौँ र आठौं संस्करण लागातार आफ्नो पोल्टामा पारेको एबिसि नवौँ संस्करण पनि जितेर ईतिहास रच्न चाहन्थ्यो। तर उ स्तब्ध बनेर घर फर्किएको छ।
रनिङ्ग शिल्ड प्रतियोगितामा ३ संस्करण जित्ने टिमले उपाधिका लागी तयार पारिएको ट्रफी घर लान पाउने प्रावधान छ।
हेटौंडा भेट्रान्सले उक्त उपाधिका लागि ताँबाको ठेकी आकारको ट्रफी तयार पारेको छ।
उक्त ट्रफिमा ५२ तोला चाँदी लेपन गरिएको आयोजक हेटौंडा भेट्रान्सका संयोजक प्रशान्त पाख्रीनले जानकारी दिए। 
शुक्रवार नै भएको अर्को सेमिफाइनल खेलमा बानेश्वर फ्रेण्डशिपले बगरभाई खलक पोखरालाई पराजित गर्यो। बानेश्वरले बगरभाईलाई ट्राईब्रेकरमा २–३ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरीमा खेल सकिएपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो।
उक्त खेलमा बानेश्वर फ्रेण्डशिपका राजु पुलामी ‘म्यान अफ द म्याच’ घोषित भए।
पुलामीलाई हेटौंडा भेट्रान्सका सदस्य सुबिन घिमिरेले ट्रफी प्रदान गरे।
प्रतियोगिताको फाईनल खेल भोली शनिबार दिउँसो २ बजे शुरु हुने आयोजकले जनाएको छ।
४० मिनेट समय निर्धारण गरिएको खेलमा ४५ वर्ष उमेर कटेका खेलाडी मात्र सहभागी हुन पाईने प्रावधान राखिएको छ।प्रतियोगितामा देशभरिका १८ भेट्रान्स टिमहरुले सहभागिता जनाएका थिए।
प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र ,उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा विधागततर्फ उत्कृष्ट गोल किपर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

सेमिफाइनल खेलमा उपविजेता बनेको बगरभाई खलक पोखरा भेट्रान्सका खेलाडी।

सेमिफाइनल खेलमा उपविजेता बनेको एबिसी पोखरा भेट्रान्सका खेलाडी ।



