चैत्र २,हेटौंडा ।काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित दोलालघाटमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एक बालिका गम्भीर घाईते बनेकी छिन्। घटनामा २ जना घाईते भएका छन्।
आगलागीबाट सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढि नगरपालिका घर भएकी ११ वर्षिया बालिका प्रविसा परियार गम्भीर घाईते बनेकी हुन्।उनको अनुहार र हातमा गहिरो जलन भएको छ। घटनामा अर्कि एक ७ वर्षिया बालिका सबिना तामाङ र वर्ष ३६ की निरमाया तामाङ घाईते भएका हुन्।
सबिना र निरमाया मकवानपुरका हुन्। निरमायाको अनुहार र हातमा जलेको छ भने सबिनाको अनुहारमा सामान्य जलन भएको वागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ।
दोलालघाटका सुन्दर श्रेष्ठको घरमा डेरा गरि बस्दै आएकी निरमायाको भान्सामा विहिबार साँझ खाना पकाउने क्रममा अचानक ग्याँस लिक भएर आगालागी भएको प्रहरीले जनाएको छ।
घाईतेहरुको धुलिखेल अस्पतालमा सामान्य उपचारपछि हाल किर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भैरहेको छ।
पाँचखाल नगरपालिकाको दमकल,स्थानीय र प्रहरीको सक्रियतामा आगो पूर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।



