चैत्र ३,हेटौंडा ।गजल मञ्च मकवानपुरले शनिवार हेटौंडामा गजल उत्सव कार्यक्रम सम्पन्न गरेको छ।
साहित्यको एउटा विधाको रुपमा रहेको गजलको उन्नयनका खातिर मञ्चले कार्यक्रम आयोजना गरेको बतायो।
कार्यक्रममा गजललाई वाचन,गायन र बहसगरी तीन भागमा प्रस्तुत गरिएको थियो। गायक पुरुषोत्तम आचार्य र अजर फुयाँलले गजल गायन प्रस्तुत गरेका थिए भने गजलकारहरु घनेन्द्र ओझा,बाबु त्रिपाठी,शितल कादम्बिनी,रुपक वनबासी,श्यामकुमार बानियाँ,विश्वनाथ सञ्जेल,यश लामा,धर्मराज स्याङतान,भवानी तिमल्सिना र सुवास सजल लगायतका सर्जकहरुले गजल वाचन गरेका थिए।
उनिहरुको गायन र वाचनमा दर्शकहरु झुमेका देखिन्थे। दर्शकदीर्घाबाट उत्प्रेरक हुटिङ हुँदा माहोल उल्लासमय बनेको थियो।
घनेन्द्र ओझा,बाबु त्रिपाठी तथा शितल कादम्बिनी गजलको सैद्धान्तिक र वैचारिक पक्षका बारेमा वकालत गर्दै बहसमा सरिक भएका थिए।गजल मञ्च हेटौंडाका पूर्व अध्यक्ष समेत रहेका दीपक गौतमले उनिहरुबिच बहस चलाएका थिए भने निमेष निखिलले बहसको समीक्षा गरेका थिए।उनले गजललाई शास्त्रीय ढंगबाटै लेखिनुपर्नेमा जोड दिए।

निकै रोचक रुपमा प्रस्तुत भएको बहस कार्यक्रममा घनेन्द्र ओझाले गजललाई शास्त्रीय मान्यता अनुरुप लेख्नुपर्ने बताए।उनले गजलमा हुनुपर्ने तीन तत्व भएपछि मात्र गजलको रुपमा मान्यता दिन सकिने ठोकुवा गरेका थिए भने बाबु त्रिपाठिले स्वच्छन्दरुपमा लेखिएको सिर्जनालाई पनि गजल मान्नुपर्ने तर्क राखेका थिए। एकघण्टा भन्दा बढि चलेको बहस कार्यक्रममा नवसर्जकहरुले पनि आ–आफ्ना तार्किक प्रश्नहरु राखेका थिए।
कार्यक्रममा सहभागी स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गरेका थिए।
मञ्चका अध्यक्ष केशव समर्पणको सभाध्यक्षतामा समापन भएको कार्यक्रमको सहजीकरण मञ्चका सचिव हरि पौड्यालले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय