चैत्र २९,हेटौंडा । वरिष्ठ गीतकार राजेन्द्र थापालाई १५ औँ बिजुलीमाया वनःश्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार-२०८० बाट सम्मान गरिएको छ। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले विहिबार हेटौंडामा एक समारोहका बिच गीतकार थापालाई एक लाख रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी रहेका नगेन्द्र थापा,प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतले गीतकार थापालाई दोसल्ला ओढाई सम्मान गरेका थिए।

५ दशक भन्दा लामो समयसम्म नेपाली गीत लेखनमा निरन्तर कलम चलाएको भन्दै थापालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।
आधुनिक देखि चलचित्रका गीतकालागि समेत कलम चलाएका थापाका थुप्रै गीतहरु दर्शक स्रोतामाझ लोकप्रिय छन्।
उनले एक हजारभन्दा बढी गीतहरु लेखेका छन्।
उनले लेखेका गीतहरुमा अग्रज गायकहरु नारायण गोपाल, अरुणा लामा,प्रेमध्वज प्रधान,दीप श्रेष्ठ देखि पछिल्लो समयका चर्चित गायकहरु रामकृष्ण ढकाल,शिव परियार लगायतले स्वर भरेका छन्।
पोहोर साल खुसी फाट्दा, पर लैजाउ फुलहरु, झिरमा उनिनु एउटा कुरा,कसरी म भुँले,मेरो खुकुरीको नौलो कथा,बेहोस पछि त होशमा आउँदा क्या दामी भो,दर्शन नमस्ते, लगायतका चर्चित गीतहरु थापाले लेखेका हुन्।
हेटौंडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले विसं २०६४ सालमा आफ्नी आमा बिजुलीमाया वनः श्रेष्ठको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन्।
यो पुरस्कारबाट हालसम्म गायक तथा संगीतकार अम्बर गुरुङ,गायक प्रेमध्वज प्रधान,भक्तराज आचार्य,फत्तेमान राजभण्डारी ,प्रकाश श्रेष्ठ,दीप श्रेष्ठ,गायिका शान्ती ठटाल,मिरा राणा,दावा ग्याल्मो,संगीत प्रशिक्षक न्हुच्छेबहादुर डंगोल,गीतकार तथा संस्कृतिविद् चेतन कार्कीलाई सम्मान गरिसकिएको छ।

साथै भिम विराग संगीत युवा पुरस्कार-२०७९ बाट गायिका निशा देसारलाई पनि सम्मान गरिएको छ।उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँको छ।



