बैशाख ३,निजगढ। बाराको निजगढ नगरपालिकाले काठमाडौ-तराई मधेश द्रुतमार्ग निर्माणका कारण निजगढ क्षेत्रमा पर्न सक्ने विविध दीर्घकालिन असर र त्यसको समाधानका लागि सहजीकरण गरिदिन रक्षा मन्त्रालय र द्रुतमार्ग निर्माण आयोजना समक्ष अनुरोध गरेको छ। नगरप्रमुख सुरथ पुरीले सोमबार निर्माणाधीन द्रुतमार्गको अवलोकन भ्रमणमा निजगढ आएका रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र आयोजना प्रमुख नेपाली सेनाका जर्नेल विशाल पोखरेललाई विभिन्न ६ बुँदे माग राख्दै मागपत्र पेश गरेका हुन्। मागपत्र रक्षामन्त्री हरि उप्रेतीलाई बुझाउने कार्यक्रम रहेको भएपनि समयाभावका कारण नगरपालिकाको टोलिले मन्त्री उप्रेतीलाई भेट्न पाएन।द्रुतमार्गको निजगढस्थित जिरोमाईल निर्माण बेश क्याम्पमा आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह,बारा १ को तर्फबाट प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनाली,प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवहरु,द्रुतमार्ग निर्माण आयोजना बेश क्याम्पमा कार्यरत उपल्लो दर्जाका नेपाली सेनाहरु तथा निजगढ नगरपालिकाका मेयर,उपमेयर तथा वडाध्यक्ष लगायतको उपस्थिति थियो।
मागपत्रमा द्रुतमार्ग निर्माणले निजगढको समग्र आर्थिक तथा सामाजिक पक्षमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले सिँचाई,नदि नियन्त्रण,स्वास्थ्य,शिक्षा तथा रोजगारीको क्षेत्रमा दीर्घकालिन विकास र जनजीविकाको पक्षमा सहजीकरण गरिदिन अनुरोध गरिएको छ।
मागपत्रमा के -के छन्?
१.सिँचाई
द्रुतमार्ग निर्मित क्षेत्रको किनारमा पर्ने बकैया खोलाबाट निजगढका ४ देखि १० नम्बर सम्मका वडाहरुमा सिँचाईका लागि प्रयोगमा आईरहेको ४ ओटा कुलोहरुमा प्रत्यक्ष असर परिरहेको तथा खोलाको सतह गहिरीन गई उक्त कुलोहरुको बाँधमा असर परेकोले त्यस क्षेत्रका किसानहरु मारमा परेको भन्दै बाँधहरुको स्थायित्वका लागि चेक ड्याम बनाउन आवश्यक बजेटको व्यवस्था मिलाईदिन अनुरोध।
२.नदि नियन्त्रण
द्रुतमार्ग निर्माणका कारण चुरे क्षेत्रमा हुने भूक्षयले बकैया खोलामा असर पुर्याई खोलामा निर्मित ड्यामहरु कमजोर भै भत्किन सक्ने र खोला वस्तिमा प्रवेश गरि भौतिक तथा मानवीय क्षती हुनसक्ने भन्दै मोहोरी क्षेत्रदेखी बकैया पुलसम्मको क्षेत्रमा ड्यामहरुको दीर्घकालिन समाधान गर्न प्राविधिक अध्ययन अनुसन्धान तथा विश्लेषण गरि नदि नियन्त्रण गर्नुपर्ने।
३.स्वास्थ्य
आयोजना निर्माणका क्रममा वातावरणमा धुलो,धुँवा तथा निर्माणकार्यबाट निष्कासित दुषित पदार्थले नगरवासीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेकोले त्यसबाट बच्न नगरमा रहेका स्वास्थ्य संस्थाहरुलाई सबलिकरण गर्नका लागी भौतिक पूर्वाधार निर्माण तथा स्वास्थ्य सामग्रीहरु खरिद गरि उपचारको सहजताका लागि वडा नं ९ को आधारभूत अस्पताल,११ को रतनपुरी स्वास्थ्य चौकी र २ नम्बर वडाको भरतगंज स्वास्थ्य चौकिको आवश्यक व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने।
४.शिक्षा
वर्तमान शिक्षाको स्तरलाई माथि उकास्न ,शिक्षा क्षेत्रमा प्रतिस्पर्धी क्षमताको विकास गर्न , भौतिक तथा शैक्षिक पूर्वाधारमा रहेको समस्यालाई समाधान गर्न तथा शैक्षिक गुणस्तरको विकास गर्न नगरपालिकासँग पर्याप्त बजेट नभएकाले द्रुतमार्ग आयोजनाबाट आवश्यक सहयोग गरि यथोचित व्यवस्थापन गर्नुपर्ने।
५.रोजगारी
अधिकांस नगरबासि बेरोजगारी हुँदा आर्थिक अवस्था कमजोर तथा दैनिक गुजारा चलाउन समेत ज्यालादारी गर्नुपर्ने अवस्था भएकाले आयोजनाबाट सिर्जना हुने रोजगारी उपलब्ध गराउनुपर्ने,साथै कृषि पशुपालन,हस्तकला लगायतका क्षेत्रमा सर्वाङ्गिण सहयोग गरिदिनुपर्ने।
६.अण्डरपास
द्रुतमार्ग अन्तर्गत निजगढ बाट अमलेखगञ्ज जाने पुरानो बाटो र मोहोरीखण्डमा बनाईएको अण्डर पासको उचाई कम भएको पाइएकोले सबै किसिमका सवारी साधनहरु जनसक्ने गरि निर्माण गर्नुपर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय