बैशाख २९,हेटौंडा। मकवानपुर प्रहरीले ५५ हजार नेपाली रुपैयाँसहित ५ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका-९का १८ वर्षिय सीताराम थिङ,हेटौंडा उपमहानगरपालिका १४ घर भई वडा नं ४ मा डेरा लिई बस्ने वर्ष ३७ का सुनिल ढुंगाना र उनका १८ वर्षिय छोरा रोजल ढुंगाना,मकवानपुर गढी गाउँपालिका-४ का २० वर्षिय सोमराज थोक्कर र सोही ठाउँका २८ वर्षिय रामेश्वर अर्याल छन्।
प्रहरीले सुरुमा कैलाश गाउँपालिका -९बाट सीतारामको साथबाट १ हजार दरको १२ ओटा नक्कली रुपैयाँ फेला पारि नियन्त्रणमा लिएको थियो।
उनले प्रहरीलाई आफुलाई उक्त नोट सुनिलले दिएको बताएपछी सुनिलको डेरामा खनतलासी गर्दा १ हजार दरका ४२ ओटा र उनका छोरा रोजलको साथबाट १ ओटा नक्कली नोट फेला पारेको थियो।

प्रहरीले बरामद गरेको नक्कली नोट।
पक्राउ परेकाहरुसँगको बयानपछी उक्त कार्यमा सोमराज र रामेश्वर पनि संलग्न रहेको पाईएकोले उनिहरुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत,हेटौडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता भण्डारीले बताए।





