बैशाख ३०,हेटौंडा। काठमाडौंमा शनिबार साँझ ४ जना नाबालकहरुले एकजना युवाको हत्या गरेका छन्। बत्तिसपुलतीस्थित कुमारीमार्गमा साँढे ७ बजे ग्याङफाइट हुँदा मोरङको पत्थरी शनिश्चरे नगरपालिका— ९ घर भई काठमाडौंको बिजयचोक डेरा गरी बस्ने २४ वर्षीया शम्भु धिमालको मृत्यु भएको थियो।
मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका धिमाललाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
दुई समूहबीच सामान्य विषयमा विवाद हुँदा हत्या भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले बताए । उनका अनुसार उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । ३ जनाको समूह राति बर्थडे पार्टी मनाएर फर्कँदै थिए ।
बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का एक साथी जोडिए । ४ जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । सोही क्रममा भनाभन भई झगडा हुँदा ४ जनाको समूहमध्ये एक जनाले धारिलो चक्कु धिमालमाथि प्रहार गरेका थिए ।
घटनालगतै गौशाला प्रहरीले आक्रमण गर्ने ४ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ४ जनानै नावालक भएकाले प्रहरीले नाम खुलाएको छैन ।



