जेठ १४,हेटौंडा। वरिष्ठ हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाबाट माफी मागेका छन
नागरिक्ता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया पुगेका महजोडीले भिडिओ सन्देश जारी गर्दै अष्ट्रेलियाबाटै क्षमायाचना गरेका हुन् ।
मह जोडीले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । हतारमा प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूले बताएका छन्।
भिडिओ सन्देशमा मदनकृष्णले भने, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधीन विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’
उनले गृहमन्त्री रवि लामिछाने फलामजस्तै बलियो मुटु भएको व्यक्ति भनेर टिप्पणी पनि गरेका छन्।
हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’
सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको उक्त अभिव्यक्ति निकै विवादमा परिरहेको थियो । जसको कारण उनीहरूको अष्ट्रेलियाको कार्यक्रम पनि प्रभावित भएको थियो । उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरेपछि महजोडीले मुख खोलेका हुन् ।



