जेठ २७,निजगढ ।बाराको निजगढ-९ स्थित निर्माणाधिन शहीद हिरालाल रंगशालाको संरक्षण र स्तरोन्नतिमा स्थानिय सामाजिक संस्था `कोर सि´ले सक्रियता बढाएको छ।
`कोर सि´ ले रंगशाला संवर्द्वनका निम्ति संरक्षण तथा संचालन समितिसँग हातेमालो गर्दै विभिन्न कार्यहरु गर्दै आएको छ। उसले,चौरको चारकिल्ला घेर्ने,वरिपरि बिरुवा रोप्ने,चौरको लेबल मिलाउने लगायतका कार्यहरु गर्दै आएको हो।
संस्थाले शनिबार पनि रंगशाला वरिपरि लगाईएका विरुवाहरुमा जैविक विघटक अर्थात झोल मल हालेको छ।संस्थाका सदस्यहरुले रंगशाला परिसरमा रोपिएका १ सय भन्दा बढी विरुवाहरुमा उक्त मल हालेको हो।
यसको प्रयोगले बिरुवाको ३ गुणा राम्रो वृद्धि हुनुका साथै रासायनिक मलले बिगारेको माटोलाई सुधार्ने संस्थाका सदस्यहरुले बताए। त्यस्तै ३ मौसमसम्म यो मल प्रयोग गर्नाले माटोमा जैविक तत्व देखिन थाल्ने पनि उनिहरुले बताए।
जैविक विघटक स्थानिय गाईको गोबरबाट बनाईन्छ।यो गाईको गोबरको कम्पोस्ट नै भएपनी झोलरुपमा उत्पादन गरिन्छ।यसले अम्लिय वातावरणमा पनि काम गर्ने भएकाले बिरुवा संवर्द्वनमा ३ गुणा बढी फाईदा हुने बताईएको छ।

बिरुवामा जैविक विघटक हाल्दै`कोर सि´का सदस्यहरु।
रंगशाला संरक्षण तथा संचालन समितिले हिरालाल रंगशालालाई हरित रङ्गशालाको रुपमा विकाश गर्ने अवधारणा लिएर वातावरण मैत्री क्रियाकलाप गर्दै खेलमैत्री वातावरण निर्माणमा निरन्तर सक्रिय रहँदै आएको समितिका अध्यक्ष जगतबहादुर न्यौपानेले बताए। समितिले रङ्गशालाको स्तरोन्नति एवं संरक्षणका लागि विभिन्न सामुदायिक संघसंस्थाहरु सँग सहकार्य गरि विविध कार्यहरु गर्दै आएको पनि उनले बताए।
यो रंगशाला तराई-मधेस-काठमाडौ द्रुतमार्ग संचालन पश्चात राजधानी काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हुँदा दशरथ रंगशालाको बिकल्पको रुपमा समेत प्रयोग गर्न सकिने जानकारहरुले बताउँदै आएका छन्।
यसलाई तीनै तहका सरकारले विशेष प्राथमिकतामा राखी देशकै वैकल्पिक रङ्गशालाका रुपमा विकाश गर्नुपर्ने स्थानीय स्तरमा आवाज उठ्न थालेको छ।



