भदौ २५,हेटौँडा । हेटौँडाबाट बारातर्फ जाँदै गरेको ट्रकबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सोमबार साँझ ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले गाँजासहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–२१, अमलेखगञ्जमा रोकी सुरक्षाजाँच गर्दा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाएर राखिएको १५ पोकामा दुई सय ४० किलो लागूऔषध गाँजा बरामद गरेको बारा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ट्रक चालक चितवनको राप्ती नगरपालिका वडा–३, झुरझुरेका २६ वर्षीय विज्ञान तिमल्सिना र सहचालक १८ वर्षीय बाबुकाजी परियारलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।



