भदौ २५,हेटौंडा ।घरेलु टोलीहरु आयोजक रोटरी पिप्ले भेट्रान्स र हेटौंडा भेट्रान्सलाई स्तब्ध पार्दै सर्लाहीको हरीवन भेट्रान्स र बाराको निजगढ भेट्रान्स हेटौंडामा जारी तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेका छन् । हरिवन र घरेलु टोली हेटौंडा भेट्रान्सबीच आज भएको पहिलो खेलमा हेटौंडा भेट्रान्सलाई हरीवनले शुन्यका विरुद्द ४ गोल अन्तरले पराजित गर्यो ।खेलमा दबदबा कायम गरेको हरीवनले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो भने दोश्रो हाफमा पुनःअर्को गोल गर्दै जीत सुनिश्चित गरेको हो । हरीवनका लागी चन्द्रबहादुर स्याङ्गतानले २ तथा निराजन कार्की र लालबहादुर स्याङ्गतानले एक एक गोल गरे। खेलमा हरीवनका चन्द्रबहादुर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै आजै भएको दोश्रो खेलमा निजगढले आयोजक रोटरी पिप्ले भेट्रान्सलाई टाईब्रेकरमा १ का विरुद्द ३ गोलले पराजित गर्यो । निकै प्रतिश्पर्धात्मक खेलमा निर्धारीत समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा रोटरीका खेलाडीले प्रहार गरेको ३ बल गोल हुन सकेन भने निजगढका खेलाडीले लगातार गोल गरेका थिए ।यसअघि दुबै टिमले गोल गर्ने राम्रो अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेनन्।
खेलमा निजगढका गोलकिपर बिकास लामा म्यान अफ द म्याच घोषित भए।उनलाई नेपाल सरकारका पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले ट्रफि प्रदान गरेका थिए ।
खेल संचालन हुनुपूर्व अमेरीकामा बसोबास गर्ने निजगढका शशी लामाले निजगढ भेट्रान्सलाई सहयोग गरेको २० थान जर्सी प्रदान गरीएको थियो । लामाले निजगढमा संचालित साथी सहकार्य क्लबमार्फत उक्त जर्सी वितरण गरेको निजगढ नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रमोद न्यौपानेले बताए।
प्रतियोगिता अन्र्तगत बुधवारको पहिलो खेल युनिटी भेट्रान्स बीरगंज र फ्रिडम फाईटर काठमाण्डौ तथा दोश्रो खेल अभिषेक चर्च नवलपुर र सिमरा भेट्रान्स बाराबिच हुने आयोजकले जनाएको छ ।



