असोज ५,हेटौंडा ।देशव्यापी रुपमा संगठन निर्माण,प्रशिक्षण, समस्या संकलन र निरुपणका लागी मेची–काली यात्रा शुरु गरेको भ्रष्टाचार विरुद्ध द डार्क फाईल अभियानको टोली नेपालगञ्ज पुगेको छ। गत बुधबार पूर्वी नेपालको झापा जिल्लाबाट शुरु भएको अभियान काकरभिट्टा,बिर्तामोड, इटहरी धरान र दाङको घोराही, तुल्सीपुर हुँदै नेपालगञ्ज पुगेको हो। सो क्रममा भोजपुर,धनकुटा, तेह्रथुमको ८राई, विराटनगर, सिन्धुली, गाईघाट, बीरगञ्ज, अमलेखगञ्ज, हेटौडा, चितवन तथा बुटवलमा छलफल,अन्तरक्रिया तथा समिति विस्तार भएको अभियानका संयोजक राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । तिमल्सिनाका अनुसार हालसम्म अभियानको २३ ओटाजिल्ला समिति र १०० भन्दा बढी स्थानीय तहहरूमा नगर र पालिका कमिटी गठन भएका छन् भने यात्राका क्रममा ३५ हजार भन्दा बढि शुभेच्छुक सदस्यहरुसँग प्रत्यक्ष भेटघाट भएको छ ।
अभियानले देशका विभिन्न क्षेत्रहरुमा हुनेगरेका र भैइरहेका भ्रष्टाचारजन्य बेथितिहरुको समस्या संकलन र यसको निरुपणका लागी राज्यलाई घच्घच्याउँदै मूलभूत रुपमा २०४६ सालको राजनीतिक परिवर्तन पछि हालसम्मका राज्यका सबै उच्च ओहोदाका पदाधिकारी र कर्मचारीहरुको सम्पत्ति छानबिन, न्याय परिषद र संवैधानिक परिषद खारेज,बैंक तथा वित्तीय क्षेत्रमा देखिएका अराजकता नियन्त्रण र समानुपातिक निर्वाचन प्रणाली खारेज गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागु गर्नुपर्ने लगायतका १५ बुँदे माग अघि सारेको छ ।उक्त मागपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तथा विभिन्न राजनितिक दललार्ई समेत बुझाईएको छ ।
४ ओटा प्रदेशमा अभियान छेडिसकेको डार्क फाईलले मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशमा केही समयपछि नै कार्यक्रम तालिका बनाई अभियानलाई सुचारु गर्ने जनाएको छ । देशभरका भ्रष्टाचार विरोधी जनसमुदायलाई अभियानमा आवद्धभई भ्रष्ट्राचारमूक्त मुलुक निर्माणमा हात्तेमालो गर्न संयोजक तिमल्सिनाले सबैलाई अपील गर्नुभएको छ ।



