असोज १९,हेटौंडा । हेटौंडामा झण्डै साँढे ११ करोड रुपैयाँ मूल्य बराबरको सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने बर्ष २५ को अभिषेक अजिनाथ कुटी र बर्ष २७ को राहुल भिट्टिहाल बाड छन्।
उनिहरुलाई मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काको कमाण्डमा खटिएको चेकजाँच टोलिले शनिवार बिहान हेटौंडा-१५ स्थित रातोमाटो चेकपोष्टबाट सुनसहित नियन्त्रणमा लिएको हो।
उनिहरु बिहान ३ बजे बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरमा पथलैयाबाट हेटौंडातर्फ आएका थिए। चेकजाँचका क्रममा शंका लागि शरीर तथा स्कुटर समेतको रितपुर्वक खानतलासी गर्दा शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलिका बिस्कुट आकारको ८ थान सुन फेला पारिएको थियो।
उक्त सुन तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम हुन आएको र आजको बजार भाउ अनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा हुने मकवानपुर प्रहरीले शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।
प्रहरी प्रमुख खड्काका अनुसार उनीहरू जनकपुरबाट सुन लिएर पथलैयासम्म बसमा आएका थिए । पथलैयाबाट भने उनीहरु स्कुटरमा हेटौंडा तर्फ आएका हुन्। उनीहरुले काठमाडौंको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्काको भनाई छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।
मकवानपुरमा प्रहरी प्रमुख फेरिएको २ हप्ताको अन्तरालमा अवैध सुनसहित तस्करहरु पक्राउ परेको यो दोश्रो घटना हो।
यसअघि गत मंगलवार पनि प्रहरीले रातोमाटे चेकपोष्टबाट करिब ६७ लाख मूल्य बराबरको सुनसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।
यद्यपि प्रहरीले नियन्त्रणमा लिएको वस्तुलाई भने अवैध सुन जस्तो देखिने पहेंलो पदार्थ भनेको छ।
प्रहरी प्रधान कार्यालयले मकवानपुरका तत्कालीन एसपी सीताराम रिजाललाई सरुवा गरेपछी एसपी विश्वराज खड्काले मकवानपुर प्रहरीको कमाण्ड सम्हालेका हुन्।





