पुस ४,निजगढ। बाराको निजगढ नगरपालिका-९ मा संचालित सेवा-शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले `सेवा-शुभारम्भ छात्रवृत्ति´का लागी आवेदन माग गरेको छ।
विहिवार एक सुचना जारी गर्दै संस्थाको शेयर सदस्य घरपरिवारबाट २०७९ सालको १२ कक्षाको परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई पास हुने विद्यार्थीलाई प्रमाणसहित आवेदन दर्ता गर्न अनुरोध गरेको हो।

शेयर सदस्य घरपरिवारको निवेदनसहित, लब्धांक र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी,शेयर सदस्य र विद्यार्थीको १ प्रती पासपोर्ट साईजको फोटो, शेयर प्रमाणपत्र प्रतिलिपी र सदस्यको नागरिक्ताको प्रतिलिपी संलग्न गरि पुस १५ गते भित्र संस्थाको मूख्य कार्यालयमा दर्ता गर्नुपर्ने सुचनामा जनाईएको छ।
संस्थाको कार्यविधिमै `सेवा-शुभारम्भ छात्रवृत्ति´ विद्याबाट नगदसहित सम्मान गरिने व्यवस्था भएकोले सामुदायिक तथा संस्थागत विद्यालयका १/१ जना छात्र र छात्रालाई साधारणसभामा पुरस्कृत गरिने अध्यक्ष मणिश्वर घिमिरेले जानकारी दिए।
संस्थाले बिगत ४ वर्षदेखी नियमितरुपमा उक्त विधामा विद्यार्थीहरु पुरस्कृत गर्दै आएको छ।
गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २० गते संस्थाको १४ औँ साधारणसभा गर्ने निर्णय गरेको अध्यक्ष घिमिरेले बताएका छन्।




