पुस १२,निजगढ । बाराको सिमरा विमानस्थलमा कार्यरत नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
एक साताको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले घटनामा आफ्नो संलग्नता रहेको बयान दिएको प्रहरीको भनाई छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । पक्राउ परेकामध्ये एक जनाको कोठाबाट रुम्बाको पर्स र सिक्री फेला परेको बताइएको छ । पक्राउ परेका व्यक्तिलाई भोली आइतबार सार्वजनिक गर्ने तयारी रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरिञ्जिवी दाहालले जानकारी दिए ।
जीतपुरसिमरा १७ घर भएका रुम्बाको गत पुस ७ गते बिहान ११ नम्बर वडास्थित आमाडारको पुलनजिक कारभित्र शव फेला परेको थियो । कारको चालक सिटमा मृत भेटिएका रुम्बालाई गोली हानेर हत्या गरिएको पुष्टि भईसकेको छ । उनको टाउकोको पछिल्लो भागमा गोली लागेको शल्यपरिक्षण रिपोर्टमा देखिएको प्रहरीले जानकारी दिएको छ ।
रुम्बा अघिल्लो शनिबार राती सिमरा विमानस्थलबाट राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको बागमती प्रदेश ०१–०२८च ७६१६ नम्बरको कार लिएर निस्किएका थिए ।



