पुस १५,हेटौंडा। मकवानपुर प्रहरीले काठमाडौबाट हराएको दुईओटा मोटरसाइकलसहित दुईजनालाई हेटौंडामा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा-९ लामसुरे हाईटका २४ वर्षिय सविन मिजार र सर्लाहीको वागमती गाउँपालिका-२ घर भएका वर्ष २४ कै शरदकुमार श्रेष्ठ छन्।

गत मंसिर ३० गते काठमाण्डौको रविभवन स्थित पार्कीङबाट हराएको बागमती प्रदेश ०२-०२८ प ९३७१ नम्बरको केटिएम डुकसहित मिजारलाई प्रहरीले शनिवार हेटौंडा बसपार्कबाट नियन्त्रणमा लिएको हो।
मिजार हेटौंडा-१९ स्थित वस्तीपुरमा रहेको सिमोन अटोपार्ट्सका संचालक भएको प्रहरीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ३ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, गत भदौ २९ गते सातदोबाटोस्थित पार्कीङबाट हराएको प्रदेश २-०३-०१२ प ६२६८ नम्बरको एनएस पल्सर मोटरसाईकलसहित हेटौंडा- ८ कमानेस्थित किरण चोक सडकबाट श्रेष्ठलाई पनि शनिवार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।




