माघ ४,काठमाडौ। गायक योगेश्वर अमात्यले अर्का गायक राजु लामाले गाएका केही गीतहरुको विषयको रहस्य खोल्नुपर्ने बताएका छन्।
अमात्यले लामाले गाएका चर्चित गीतहरु तिमीलाई देखेर हिमाल हाँसेको,नतानु त तानु तानु,मेरो नेपाल,उँभो उँभो खासामा जस्ता गीतहरुको रहस्य खोल्नुपर्ने बताएका हुन्।
साथै यी गीतका विषयमा म्युजिक नेपालको भूमिकाबारे आफुले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआईबीलाई यसअघि नै निवेदन गरिसकेको पनि बताएका छन्।
गायक अमात्यले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत माथी उलेखित गीतहरु राजु लामा र उनको ब्यान्ड मंगोलियन हर्टको रचना र संगीतको नभएको बताएका हुन्।
यद्यपि युट्युबमा उपलब्ध गीतहरुमध्ये तिमिलाई देखेर बोलको गीतमा रचना \ संगीत राजु लामा र योगेश्वर अमात्यको भएको उल्लेख छ भने अन्य ३ ओटाको रचना / संगीतमा प्याट्रीक र सिल्भर सिथ्लिङको नाम उल्लेख छ।
तर गायक अमात्यले भने शुरुमा म्युजिक नेपालले सार्वजनिक गरेको गीतहरुको भिडियो र पोर्टलमा वास्तविक सर्जकको नाम उल्लेख नभएको भन्दै आपत्ति जनाएका हुन्।
उनले अहिले सो गीतका भिडियोहरु म्युजिक नेपालले लुकाएको आरोप लगाएका छन्।
साथै उनले स्वर/संगीत र रचना तीनवटै विधामा मंगोलियन हर्टको नाम भएको ओरिजिनल भिडियो आफुलाई उपलब्ध गराउने पहिलो व्यक्तिलाई प्रतीगीत २५ हजारका दरले दिने पनि उल्लेख गरेका छन्।
यो विषयमा चाँदै पत्रकार सम्मेलन गरेरै थप जानकारी दिने उनले बताएका छन्।



