माघ ४ निजगढ। बाराको निजगढ नगरपालिका-१०मा जारी तेश्रो ल्होसार कप नकाउट फुटबल प्रतियोगिताको दोश्रो दिन भएको खेलमा एभरेष्ट एकेडेमी लालबन्दी र आयोजक योङ्गस्टार क्लब क्वार्टर फाईनल प्रवेश गरेको छ।
लालस्थित बुद्ध मिनि रंगशालामा शुक्रवार सम्पन्न पहिलो खेलमा एभरेष्ट एकेडेमी लालबन्दी, सर्लाहीले निजगढ सिटि क्लब-५ लाई ०-३ गोल अन्तरले पराजित गरेको हो।
उक्त खेलको ‘म्यान अफ द म्याच’सर्लाहीका जर्सि नम्बर ५ का पहिलो गोलकर्ता गौरव श्रेष्ठ घोषित भए।
उनलाई निजगढ-५ र ७ का वडाअध्यक्ष सुर्यबहादुर थापा र टेकबहादुर लामाले सयुँक्तरुपमा नगद २ हजारसहित ट्रफी प्रदान गरे।
त्यस्तै प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा आयोजक योङस्टार क्लबले हेटौंडा एकेडमी, मकवानपुरलाई पनि ०-३ गोल अन्तरले पराजित गर्यो।
योङस्टारको जीतमा जर्सी नं. १८ का खेलाडी प्रशान्त जिम्बा, जर्सी न ६ का सुदिप लामा र जर्सि न ७ का जोन तामाङ्गले समान १-१ गोल गरे।
खेलमा योङ्गस्टारका टिम कप्तानसमेत रहेका जर्सी नम्बर ६ का सुदिप जिम्बा ‘म्यान अफ द म्याच’ घोषित भए।
जिम्बालाई निजगढ-१ का वडाअध्यक्ष मङ्गले लोप्चन र निजगढ नगर खेलकुद बिकास समितिका बोर्ड मेम्बर साईला लामाले संयुक्तरूपमा नगद २ हजारसहित ‘म्यान अफ द म्याच’ ट्रफी हस्तान्तरण गरे।
भोलि शनिवार पनि २ खेल संचालन हुनेछ। पहिलो खेल वीरगंज युनाइटेड, पर्सा र अलटोकि क्लब रौतहट बीच दिउँसो १ बजे र दोस्रो खेल बेङ्गखाडि युवा क्लब,महोत्तरी र हिमाल युवा क्लब,निजगढ-८ बीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले २ लाख २ हजार २ सय र उपविजेताले १ लाख १ हजार १ सय रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।



