माघ ८,निजगढ। वीरगंज युनाईटेड र बेङ्गखाडी युवा क्लब महोत्तरी बाराको निजगढ नगरपालिका-१० मा जारी तेश्रो ल्होसार कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
सोमवार लालस्थित बुद्ध मिनि रंगशालामा सम्पन्न दोस्रो क्वाटरफाइनलतर्फ वीरगंजले बकैया गाउँपालिका मकवानपुरलाई ०-५ गोलको फराकिलो अन्तरले हरायो ।
वीरगंजको जितमा बिकी चौधरीले दुई गोल गर्दा सागर चौधरी, अर्मान चौधरी र रञ्जय चौधरीले समान एक-एक गोल गरे । खेलमा दुई गोलकर्ता बिकी चौधरी ‘म्यान अफ द म्याच’ चुनिए ।
त्यस्तै तेस्रो क्वाटरफाइनलतर्फ बेङ्गखडी क्लबले घरेलु टोली योङस्टार युनाइटेड क्लब (बी) लाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी बेङ्गखाडीले पेनाल्टीमा १-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो।
खेलमा बेङ्गखाडीका अनिल मगर ‘म्यान अफ द म्याच’घोषित भए । एभरेष्ट एकेडेमी लालबन्दी यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगिता अन्तर्गत माघ ८ गते मंगलवारको चौथो क्वाटरफाइनल खेल रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र रतनपुर युनाइटेड क्लब बीच हुने आयोजकले जनाएको छ।
योङस्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय २ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुने तय गरिएको छ।



