माघ१०,निजगढ। रतनपुर युनाइटेड बाराको निजगढ-१० मा जारी तेश्रो ल्होसारकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
विहिवार लालस्थित बुद्ध मिनि रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा बेङ्गखाडी क्लब बर्दिवासलाई ३-४ गोल अन्तरले हराउँदै रतनपुरले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो।
निकै रोमाञ्चक एवं प्रतिश्पर्धात्मक खेलमा रतनपुरले उत्कृष्ट पुनरागमन गर्दै आफुलाई डिफेन्डिङ च्याम्पियन रहेको दरिलो उदाहरण प्रस्तुत गर्यो। खेलको ३८ औँ मिनेटसम्म २-० ले पछि परेको रतनपुरले ४२ औँ मिनेटमा गोल गर्दै खाता खोलेको हो।
रतनपुरका दीपेश आलेले करिब २५ यार्डबाट प्रहार गरेको फ्रीकिक गोलमा परिणत भएको थियो।
बेङ्गखाडीका लागी ३२ औँ र ३८ औँ मिनेटमा सुदिप आले र बिनु आलेले १/१ गोल गरेका थिए।
दोश्रो हाफको ५५ औँ र ५९ औँ मिनेटमा रतनपुरका उज्वल भण्डारी र आनन्द गुरोले गोल गर्दै टिमलाई २-३ को अग्रता दिलाए।
खेलको इन्जुरी टाईममा पुन: दीपेश आलेले उत्कृष्ट दूर्लभ गोल मार्फत टिमलाई २-४ को अग्रता दिलाए। दीपेशले प्रहार गरेका कर्नर किकले सिधै जाली चुमेको थियो।
बेङ्गखाडीका सुदिप आलेले ८७ औँ मिनेटमा पुन: एक गोल गरेपनि खेलमा फर्कन ढिला भैसकेको थियो। अन्ततः रतनपुरले खेल जित्यो।
रतनपुरका गणेश हमाल ‘म्यान अफ द म्याच’ घोषित भए।उनलाई निजगढ-१० का वडाध्यक्ष आशाकाजी श्रेष्ठले नगदसहित ट्रफी हस्तान्तरण गरे।
उपाधीका लागी शनिवार रतनपुर र वीरगंज युनाइटेड भिड्ने छन्।
योङस्टार युनाइटेड क्लब, निजगढ–१०, लालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय २ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।



