माघ २१,विराटनगर। मोरङको उर्लाबारी नगरपालिका-५ स्थित एक मोबाईल पसलबाट नगदसहित ३ करोड रुपैयाँ भन्दा बढी मूल्यको मोबाईल चोरी भएको छ।
उर्लाबारी- ७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको ‘मोबाइल वर्ल्ड’ नाम गरेको पसलमा सोमवार विहान चोरी भएको हो।

चोरको समूहले सटरको ताला फुटाएर कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
‘सोमवार विहान १२ देखि १ बजेको समयमा चोरी भएको अनुमान छ, के कति परिमाणमा मोबाइल र नगद चोरी भएको भन्नेबारे हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ, चोरी गर्ने समूहको खोजीमा प्रहरी जुटेको छ।’ मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले भने।
पसल खोल्न जाँदा चोरी भएको थाहा पाएपछि सञ्चालक कार्कीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सोमवार विहान ९ बजे खबर गरेका थिए।
घटनासम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान थालेको छ।
सञ्चालक कार्कीका अनुसार पसलको गल्लाबाट ९ लाख रुपैयाँ नगद र विभिन्न ब्रान्डका साढे तीन सय थान मोबाइल चोरी भएको छ।




