माघ२२,हेटौंडा।दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको २७ औँ स्थापना दिवस एवं मकवानपुरकै पहिलो सामुदायिक रेडियो,रेडियो मकवानपुर १०१.३ मेगाहर्जको १५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ।

मंगलवार हेटौंडामा सम्पन्न वार्षिकोत्सवका अवसरमा रेडियोले मकवानपुरका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

सो अवसरमा रेडियोले मकवानपुरका पहिलो पर्वतारोही बकैया गाउँपालिका-४ का विक्रम कार्की र हेटौंडा-१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेतीलाई जनही १० हजार रुपैयाँ नगद राशीसहित सम्मान गरेको हो।

कार्कीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी जिल्लाको नाम राखेको र उप्रेतीले विगत ३० वर्षदेखी शिक्षण पेशामा आवद्ध रहि विभिन्न विद्यालयको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको हो।

त्यस्तै कार्यक्रममा सामुदायीक सम्मान अन्तर्गत मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई पनि दोसल्लाले सम्मान गरिएको थियो।

रेडियोले स्थापना कालदेखी नै हरितालिका तीजको अवसरमा २ जना जागरुक महिलालाई र वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान गर्दै आएको छ।

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित रेडियो मकवानपुरले वार्षिकोत्सवको अवसरमा साताव्यापीरुपमा विभिन्न कार्यक्रमहरु पनि सम्पन्न गरेको थियो।

जसअन्तर्गत माघ १६ गते मकवानपुरकै पहिलो शहीद वासुदेव घिमिरेको परिवारलाई नगद १० हजारसहित सम्मान,माघ १८ गते हेटौंडा-१० स्थित संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग,माघ १९ गते हेटौंडा-६ स्थित सिद्धस्थली अस्पतालको प्राविधिक सहयोगमा मकवानपुरगढी गाउँपालिका-४ मा निशुल्क स्वास्थ्य शिविर,माघ २० गते हेटौंडा-१ स्थित अमर माध्यमिक विद्यालय,चाईनाक्वार्टरका महिला विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण र माघ २१ गते मिडियाकप फुटसल प्रतियोगिता सम्पन्न गरेको हो।

रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षता एवं वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवि श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक ललित घलान,प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय प्रमुख विश्वराज खड्का,दिव्यतारा सहकारीका अध्यक्ष डा.गणेश वल लामा,नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने,विभिन्न वडाका वडाध्यक्षहरु,विभिन्न संघसंस्थाका अध्यक्ष /प्रतिनिधिहरु र पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष कृष्ण शारु लगायतको अतिथ्यता थियो।

कार्यक्रमको सहजीकरण रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय