माघ२३,काठमाडौ। काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठ रहेका छन् ।
थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतवार अपरान्ह साढे ३ बजे तिर सडकबाट अन्दाजी सय मिटर तल खस्दा ४१ जना घाइते भएका छन् ।
घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



