माघ३०,वीरगंज। खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज–१३ निवासी ४१ वर्षका हारुन मिँया अन्सारी छन्।
अन्सारीले बाख्राको मासुमा खसिको अण्डकोष सिलाएर खसिको मासु भन्दै बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए।
उनका अनुसार प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको सूचना प्रहरीलाई आएको थियो। सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपूरको टोली उक्त फ्रेस हाउसमा खानतलासी गर्न पुगेको थियो।
सञ्चालक हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला पारेको उनले बताए।
प्रहरीले सञ्चालक हारुनसहित खसीको अण्डकोष टाँसिएको १५ केजीको बाख्राको मासुसमेत नियन्त्रणमा लिएको जनाएको छ।



