फागुन१२,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न अपराधमा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले गोली लोड भएको अत्याधुनिक पेस्तोल र गोलीसहित २ जना भारतीय नागरिक,लागूऔषध डाईजेपामसहित एक जना र २ थान शंकास्पद मोटरसाइकलसहित १ जना नेपाली गरि ४ जनालाई पक्राउ गरि सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

आईतवार अपरान्ह पौने ४ बजेको समयमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकप्वाईन्टमा रौतहटको गौरबाट चितवनतर्फ जान आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको यात्रुवाहक बसलाई विशेष सुचनाका आधारमा चेकजाँच गर्ने क्रममा भारतको विहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षिय धीरज कुमार र बिहारकै मोतिहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षिय दीपक कुमारलाई गोलि लोड भएको अटो पेस्तोलसहित नियन्त्रणमा लिएको हो।

खनतलासीको क्रममा धीरज कुमारको साथबाट मेड इन युएसए लेखेको १ राउण्ड गोली लोड भएको 9MM अटो पेस्तोल र थप २ थान गोली गरी जम्मा ३ थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्।

२ ओटा अतिरिक्त गोली भने उनिहरुले सलाईको बट्टाभित्र लुकाई ल्याएका उपरीक्षक खड्काले बताए।

२ महिना अघिदेखी भारतबाट हतियार आउने सूचनाका आधारमा चेकजाँच गर्दा उनिहरुलाई पक्राउ गर्न सफल भएको उपरीक्षक खड्काको भनाई छ।

हतियार लिएर अन्य व्यक्तिपनि आएका सूचना पाएको तर यिनिहरु पक्राउ परेको खबरले उनिहरु भने भाग्न सफल भएको उनले बताए।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार लिन आउने व्यक्तिले हेटौंडा बसपार्कलाई मिटिङ पोइन्ट बनाएका थिए। यद्यपि उक्त व्यक्तिको बारेमा हालसम्म केही नखुलेको र अनुसन्धान भैरहेको उनको भनाई छ।

यस्तै आईतवार नै अपरान्ह साँढे ४ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोइन्ट अगाडी सडकखण्डमा वीरगंजतर्फबाट चितवनतर्फ जान आउँदै गरेको ना. ७ ख. ११६ नम्वरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनार्गन ५९ एम्पुल र नुर्फिन १३ एम्पुल गरि १०० एम्पुलसहित मकवानपुरको बकैया गाउँपालिका-४ छतिवन बस्ने बर्ष २४ का नविन सुनारलाई पक्राउ गरि सोमवार सार्वजनिक गरेको हो।

यसैगरी प्रहरीले सोमवार नै २ थान शंकास्पद मोटरसाईकलसहित १ जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका-८ घर भई हाल मकवानपुरको बागमती गाउँपालिका-८ धमिनथान भन्ने स्थानमा मोटरसाईकल ग्यारेज संचालन गरि बस्ने वर्ष ४२ का समिम अंसारी छन्।

अन्सारीलाई प्रहरीले आईतवार राती ९ बजे गोप्य सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार वागमति गाउँपालिका-७ धन्साईस्थित बाख्रेडाँडामा पुर्णबहादुर गोलेको घरमा शंकास्पद मोटरसाइकलहरुको पार्टसहरु अन्य मोटरसाईकलमा अदली बदली गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मोटरसाईकल तथा पार्ट्सहरुसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बा.प्र. ०२-०५४ प १४३१ नम्वर लेखिएको मोटरसाइकलको ईन्जिन नं. DHXPRJ38114, चेचिस नं MD2A11CZ4EWE25627 र
बा ८० प ९५१ नम्वर लेखिएको मोटरसाइकलको ईन्जिन नं. DHZWG37224 र चेचिस नं. MD2A11CZ4GWG32286 भएको मोटरसाइकलसहित अन्य पार्टपुर्जाहरु समेत वरामद गरेको छ।

हाल फरार रहेका घरधनी पुर्णबहादुर गोलेको भने खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक खड्काले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय