फागुन १५,हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषध गाँजा,अफिम र गाँजाको धूलो पोल्याण्डसहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरीले उक्त लागूऔषध ओसारपसार कार्यमा प्रयोग भएको एउटा सुमो पनि नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गत फागुन १० गते सुमो र लागूऔषध नियन्त्रणमा लिएपनि फरार रहेका सुमो चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भै हाल काठमाडौ महानगरपालिका-१३ पेप्सिकोला बस्ने ३८ वर्षिय लालबहादुर तामाङलाई १३ गते सोमवार काठमाडौबाट पक्राउ गरेको हो।

तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाण्डौको समन्वयमा काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-४ स्थित जोरपाटीबाट नियन्त्रणमा लिई १४ गते इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

उनका अनुसार उक्त लागूऔषधसहितको बा ७ च ७०१८ नम्बरको सुमो मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँवस्ती स्थित पुर्व पश्चिम सडकखण्डमा साईड लगाई रोकी राखिएको थियो।

सुमोलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडीको सिट मुनि लुकाई छिपाई गरी राखिएको अवस्थामा लागूऔषध गाँजा ३१ किलो ५६० ग्राम अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्याण्ड) १२७ किलो ९४० ग्राम फेला परेको नायव उपरीक्षक अर्यालले बताए।

स्थानिय भाषामा पोल्याण्ड भनिने उक्त गाँजाको धूलो चरेश बनाउन प्रयोग गरिने उनको भनाई छ।

यस्तै प्रहरीले १४ गते मंगलवार ११ किलो गाँजासहित अर्का एकजनालाई पनि नियन्त्रणमा लिएको छ।

मनहरी गाउँपालिका-३ हाँडिखोला बस्ने वर्ष ४४ का दीपक ओझालाई हेटौंडा-३ बसामाडी लेवटस्थित प्रहरी चौकी अगाडिबाट लागूऔषध गाँजासहित नियन्त्रणमा लिईएको हो।

प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौडातर्फ आउँदै गरेको बा ४ ख ३९३५ नम्बरको यात्रुवाहक बसमा सवार भई आएका ओझालाई
शंका लागी रितपुर्वक खानतलासी गर्दा उनले बोकेको कालो झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा ११ किलो ४२० ग्राम लागूऔषध गाँजा फेला परेको प्रवक्ता अर्यालले बताए।

ओझाविरुद्ध लागूऔषध मुद्दा कसुरमा म्याद थप गरि आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
मकवानपुर प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा तदारुकता देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय