चैत्र१४,हेटौंडा।हेटौंडाका एक युवाले आफ्नी जेठी भाउजुको खुकुरी प्रहार गरि हत्या गरेका छन् भने माईलो दाजुलाई गम्भीर घाईते बनाएका छन्।
हेटौंडा-१ चौकिटोल बस्ने अन्दाजी २३ वर्षिय राहुल भनिने रमेश दासले उनकी जेठी भाउजू ३५ वर्षिया गुडिया दासलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् भने माईलो दाजु २८ वर्षिय रुपेश दासलाई गम्भीर घाईते बनाएका हुन्।
दासले बुधवार अपरान्ह घरायसी विवादका क्रममा जेठि भाउजू र माईलो दाजुमाथी सांघातिक आक्रामण गरेका मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
डिएसपी अर्यालका अनुसार अपरान्ह ४ बजेर १० मिनेटको समयमा राहुलले आफ्ना दाजु रुपेशलाई धारिलो हतियार प्रहार गरि घाईते बनाएको भन्ने खबर प्रहरीमा आएको थियो।
खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलिले खुकुरी प्रहार गर्ने भाई राहुललाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो।
घाईते दाजु रुपेशको टाउको,दाहिने हात र करङमा गहिरो चोट लागेकाले हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
यता पुन: राती ९ बजे सोही घरमा उनकी जेठी भाउजू गुडिया दास मृत अवस्थामा रहेको भन्ने प्रहरीलाई खबर आएपछि प्रहरी अनुसन्धान टोलि खटी गई बुझ्दा अढाई तल्ले घरको दोश्रो तल्लामा माईलो दाजुलाई प्रहार गर्नु अगावै राहुलले गुडियालाई खुकुरी प्रहार गरि मारेको खुलेको डिएसपी अर्यालले बताए।
मृतक गुडियाका श्रीमान रोशन दास वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्।
घटनासम्बन्धमा थप अनुसन्धान भैरहेको र शव हाल घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ।



