बैशाख१५,हेटौंडा।हेटौंडामा यात्रुवाहक रात्रीबसको ठक्करबाट एकजना ट्रक धनीको मृत्यु भएको छ।
आईतवार राती ११ बजेर ४० मिनेटको समयमा हेटौंडा-८ एचआईडीस्थित पूर्व-पश्चिम सडकखण्डमा पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुवाहक बसको ठक्करबाट पैदल हिँडिरहेका पर्साको सखुवा पर्सौनी गाउँपालिका-३ कटैया बस्ने ३६ वर्षिय परबेज अन्सारीको मृत्यु भएको हो।
अन्सारीलाई हेटौडा अस्पतालमा उपचारकै क्रममा विहान १ बजेर १३ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
अन्सारी ना५ख ८६६८ नम्बरको ट्रकका धनी भएको खुल्न आएको प्रहरीले जनाएको छ। उक्त ट्रक सोही एरियामा बिग्रिएर मर्मत गरि मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा अन्सारीलाई बसले ठक्कर दिएको थियो।
ठक्कर दिने बस तत्काल फरार रहेकोमा बारा प्रहरीसँगको समन्वयमा अम्लेखगंजबाट विहान ३ बजे नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीले बस चालक उदयपुरको कटारी नगरपालिका-२का ३९ वर्षिय युवराज माझीलाई बससहित नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिरहेको जनाएको छ। ठक्कर दिने बस ईलाका प्रहरी कार्यालय पशुपतीनगरमा राखीएको छ।
१९ जना घाईते
यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुल नजिकै एउटा यात्रुवाहक बसले अर्को बसलाई ठक्कर दिँदा १९ जना घाईते भएका छन्।
पोखराबाट रौतहटतर्फ आउँदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काकरभित्ताबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसले पछाडिको भागमा ठक्कर
दिदाँ अनियन्त्रित भई सडक छेउमा बिग्रीएर रोकिराखेको ट्रकमा ठोक्किएको थियो।
प्रदेश २-०३-००१ ख ५१८७ नम्बरको कोईला लोड भएको लहरी ट्रकमा ठोक्किएको १६५५ नम्बरको बस सडकबाट अन्दाजी ५ मिटर तल खसेर दूर्घटना भएको प्रहरीले जनाएको छ।
घाईतेहरु सबै उक्त बसमा सवार यात्रु हुन्। उनिहरुको हेटौंडा अस्पताल र अमलेखगञ्जस्थित अकलबहादुर कार्की अस्पतालमा मध्यम अवस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ।



