बैशाख२३,निजगढ। बाराको निजगढमा जारी प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर ११,रतनपुरी विजयी भएको छ ।
रतनपुरीले वडा नम्बर ५ पूर्वटोललाई ०-१ गोल अन्तरले हराएको हो।
रतनपुरीका जर्सी नम्बर ७ का खेलाडी शिरीष कुमरले गरेको एक गोल नै निर्णायक बन्यो। कुमरले खेलको दोस्रो हाफमा उक्त गोल गरेका थिए। जितसँगै ११ नम्बर वडा प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
खेलको ‘म्यान अफ द म्याच’ उनै गोककर्ता कुमर घोषित भए।
उनलाई वडा नम्बर ५ का वडाअध्यक्ष सुर्यबहादुर थापा, वडा नम्बर ११ का वडाअध्यक्ष सहईया गुरो र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गरेका थिए।
प्रतियोगिता अन्तर्गत आजै भएको दोश्रो खेलमा वडा नम्बर३,सिंगौल विजयी भएको छ। सिंगौलले वडा नम्बर१२,बुङ्जोरलाई ०-२ गोल अन्तरले पराजित गरेको हो।
वडा नम्बर ३ को जीतमा दुई गोल नै रोज बजुले गरेका थिए। उनले पहिलो हाफ र दोश्रो हाफमा १/१ गोल गरेका हुन्।
जितसँगै वडा नम्बर ३ पनि प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । खेलको ‘म्यान अफ द म्याच’ विजेता टोलीका सन्दिप थोकर घोषित भए।
उनलाई वडा नम्बर ३ का वडाअध्यक्ष गोकुल तिमल्सिना, कार्यपालिका सदस्य मानबहादुर भुजेल र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफि प्रदान गरेका थिए।
प्रतियोगिता अन्तर्गत भोलि बुधबार पहिलो खेल वडा नम्बर ४ र १० तथा दोस्रो खेल वडा नम्बर ६ र ८ का बिच हुने आयोजकले जनाएको छ।
निजगढ नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालित प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ तथा दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।



