असार१९,हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोल र गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले बुधवार १७ सय ७० क्याप्सुल ट्रामाडोलसहित तीन जना र १६८ किलो ३० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको हो।
हेटौंडा-१५ शिखरपानीका २४ वर्षिय महेश तामाङ,भीमफेदी गाउँपालिका घर भई हाल हेटौंडा-९ मा डेरा गरी बस्ने २६ वर्षिय कैलाश थापा मगर र वडा नम्वर १३ बस्ने ४० वर्षिय सोम स्याङतान लागूऔषध ट्रामाडोलसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनिहरु दिउँसो ३ बजेको समयमा हेटौंडा-८ स्थित औधौगिक क्षेत्रको पानी ट्याङ्की नजिकै सडकखण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाईकल र ना २१ प १७१ नं. को स्कुटर रोकी शंकास्पद रुपमा बसीरहेका थिए।
उनिहरुमाथी शंका लागि खानतलासी गर्दा १७ सय ७० क्याप्सुल ट्रामाडोल फेला परेको थियो।
उनिहरुले प्रयोग गरेका मोटरसाइकल र स्कुटरसमेत बरामद गरी लागूऔषध कसुर मुद्धामा जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यसैगरी,बुधवार नै १६८ किलो ३० ग्राम लागूऔषध गाँजासहित कैलाश गाउँपालिका-९ ठूलोबारीका ५५ वर्षिय अर्जुन रुम्बालाई पनि प्रहरीले पक्राउ गरेको छ।
रुम्बालाई अपरान्ह साँढे ३ बजेको समयमा सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, रुम्बालाई उनकै घर अगाडी बसिरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा गोठभित्र घाँस र स्याउलाले छोपी लुकाई छिपाई राखेको अवस्थामा १६८ किलो ३० ग्राम लागूऔषध गाँजा फेला परेको थियो।
रुम्बालाई नियन्त्रणमा लिई लागूऔषध गाँजा मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



