असार२०,हेटौंडा।मकवानपुरस्थित हेटौंडा-काठमाडौं सडकखण्डमा यात्रुवाहक विद्युतिय गाडी दूर्घटना हुँदा ५ जना घाईते भएका छन्। घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।
शुक्रवार दिउँसो १ बजेको समयमा ईन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित सडकखण्डमा उक्त गाडी दूर्घटनामा परेको हो।
गम्भीर घाईते हुनेहरुमा पर्साको जिराभवानी गाउँपालिका-३ बस्ने ३५ वर्षिय चन्द्र सन्जु गौरे, भारत विहारका ३९ वर्षिय रिसाहद कुमार तथा ३५ वर्षिय उमाशंकर कुमार छन्।
त्यस्तै,बिहारकै २७ वर्षिय जताशंकर कुमार र ५० वर्षिय राकेश कुमार सामान्य घाईते भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्वरको विद्युतीय गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको हो। तिब्र गतिका कारण गाडी दूर्घटनामा परेको यात्रुलाई उधृत गर्दै प्रहरीले जनाएको छ।
गाडिमा चालकसहित १० जना सवार थिए। घाईतेहरुलाई उद्धार गरी उपचारार्थ काठमाण्डौ अस्पतालतर्फ पठाईएको
प्रहरीले जनाएको छ।
गाडी चालक बाराको परवानीपुर गाउँपालिका-२ का २२ वर्षिय राजाराम साह प्रहरीको नियन्त्रणमा रहेका छन्।



