असार २२,निजगढ।बारा प्रहरीले पेट्रोलियम पदार्थमा मिसावट गर्ने अखाद्य तेलजन्य पदार्थसहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरीले पाँच हजार सात सय पन्चानब्बे लिटर वनस्पतिजन्य तेल जस्तो देखिने अखाद्य पदार्थ, एक हजार लिटर पेट्रोल,छ सय लिटर डिजल र छ सय लिटर नै मट्टितेलसहित जीतपुर-सिमरा उपमहानगरपालिका-१२ फत्तेपुर बस्ने मिनि ट्रकका चालक २१ वर्षिय सुवास चौधरीलाई नियन्त्रणमा लिएको हो।
आजको बजार भाउ अनुसार उक्त पेट्रोलियम पदार्थको (पेट्रोल,डिजल,मट्टीतेल) मूल्य नौ लाख छैहत्तर हजार,चार सय पचास रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ।
प्रहरीले पेट्रोलियम पदार्थमा अन्य वनस्पतिजन्य तेल पदार्थ मिसावट गरि वेचबिखन गर्न लागेको आशंका गरेको छ।
प्रहरीले आईतवार अपरान्ह ३ बजेको समयमा जीतपुर-सिमरा-२२ स्थित हलेसि पेट्रोल पम्प नजिकै स्थानीय २२ वर्षिय सुरेन आलेले संचालन गरेको गाडी वास ग्यारेज पछाडी खालि ठाउँमा तेल ट्याङकरबाट तेलहरु चोरी गरि बेचबिखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा छापा मारेको थियो।
ईलाका प्रहरी कार्यालय,सिमराबाट डिएसपी वेदप्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले ना. १ क २८३६ नं. को मिनि ट्रकमा उक्त पदार्थहरु लोड गर्दै गरेको अवस्थामा फेला पारी उक्त पदार्थहरुसहित गाडी र चालक चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।



