असार२९,कंचनपुर। महिनावारी भएर छाउगोठमा सुत्न गएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएको छ।

शुक्रवार महिनावारी भएर छिमेकीको छाउगोठमा सुत्न गएकी आउजीको करेत सर्पको डसाईबाट शनिवार साँझ ज्यान गएको हो।

पुर्ख्यौंली घर अछामको मेल्लेख गाउँपालिका-८ भएकी उनि महिनावारी भएका बेला घरमा सुत्यो भने देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुत्ने गरेकी थिइन्।

कमलको एकतले घर(बायाँ) र छाउगोठ (दायाँ)

आफ्नै आँगनमा कच्ची छाउगोठ बनाइएको भएपनी शुक्रवार भने पानी पर्दा चुहिने भएकाले नातामा जेठाजु पर्ने छिमेकीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन् ।

६,८ र १२ वर्षका तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डसेको थियो।बाँया गालामा सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरेकी थिइन्।

प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली नभएर झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएपनी उनलाई बचाउन नसकिएको चिकित्सकले बताए।

कमलाले श्रीमानसँगै भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कृष्णपुरमा हालै मात्र एक तले पक्की घर पनि बनाएकी थिइन्।तर,महिनावारीमा छाउगोठमा सुत्नुपर्ने कुप्रथाका कारण उनले अकालमै ज्यान गुमाईन्।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउपडी भएका बेला छाउगोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामुलक अभियान चलाइएर गोठ भत्काउने काम गरिएको भएपनी ग्रामीण क्षेत्रमा अहिले पनि छाउगोठमा बस्ने परम्परा कायमै रहेका कारण दुःखद् घटना हुन पुगेको बताउँछन् ।

छाउपडी कुप्रथाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छाउगोठमा बसेका बेला कयौं किशोरी, युवती तथा महिलाहरुले अकालमै ज्यान गुमाउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय