असार३२,निजगढ।मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमिल्सिनालाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरेको छ।
जनकपुरमा मंगलवार आयोजित विशेष कार्यक्रममा तिमल्सिनालाई मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले नगद साँढे ८ हजार रुपैयाँसहित सम्मान-पत्रले सम्मान गरेकी हुन्।

मन्त्रालयले शिक्षक तिमल्सिनालाई प्रदान गरेको सम्मानपत्रमा– ‘मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रममा ‘एक स्थानीय तह, एक उत्कृष्ट शिक्षक पुरस्कार’ अन्तर्गत विद्यालय शिक्षाको सुधारमा पुर्याएको योगदानलाई उच्च कदर गर्दै सम्बन्धित स्थानीय तहको सिफारिसमा तपाईंलाई शैक्षिक सत्र २०८१ का लागि नगद पुरस्कारसहित स–सम्मान उत्कृष्ट शिक्षकको रूपमा पुरस्कृत गरी यो कदरपत्र प्रदान गरिएको छ।’ भनिएको छ ।
सम्मानका लागी मन्त्रालयको कार्यक्रममा उल्लेख गरिएको मापदण्ड अनुसार आफू पुरस्कृत भएको प्रधानाध्यापक तिमल्सिनाले बताए।
कार्यक्रममा मन्त्रालयले मधेसका सबै पालिकाबाट उत्कृष्ट शिक्षकको रुपमा एक/एक जना शिक्षकलाई सम्मान गरेको थियो ।




