साउन६,हेटौंडा।मकवानपुर प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छली गरेको १६ करोड भन्दा बढी रकम बराबरको विभिन्न अवैध सामग्रीहरु नियन्त्रणमा लिएको छ।
प्रहरीले गत आर्थिक वर्षमा गरेको कार्यसम्पादनको विवरण अनुसार सबैभन्दा बढी रकम बराबरको भन्सार छलिका अवैध सामानहरु नियन्त्रणमा लिएको हो।
भन्सार छली तथा अवैध सामान नियन्त्रण
प्रहरीले १२ करोड २७ लाख २७ हजार ५०६ रुपैयाँ बराबरको ८ किलो ७३५ ग्राम १४३ मिलिग्राम अवैध सुन, २ करोड ५९ लाख १९ हजार ९९३ रुपैयाँ बराबरको लत्ताकपडा र खाद्यान्न, ७० लाख ८१ हजार रुपैयाँ बराबरको १० थान सवारी साधन,३२ हजार अमेरिकी डलर र १४ हजार युरो गरि ६२ लाख ९० हजार ३५ नेपाली रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा र ३ लाख ६६ हजार ५४९ रुपैयाँ बराबरको २ किलो १९६ ग्राम अवैध चाँदी गरि कुल सोह्र करोड,छ लाख पन्चानब्बे हजार चार सय त्रिहत्तर रुपैयाँ बराबरको भन्सार छलिका अवैध सामानहरु नियन्त्रणमा लिएको जनाएको छ।
ट्राफिक व्यवस्थापन र कार्वाहीतर्फ:
यस्तै,गत आर्थिक वर्षमा ट्राफिक व्यवस्थापनतर्फ ३० हजार ३४ ओटा सवारीसाधनलाई कार्वाही गरि २ करोड ४१ लाख ४५ हजार ५४ रुपैयाँ राजश्व संकलन गरिएको छ।
त्यस अवधिमा ४०७ ओटा सवारी दूर्घटना हुँदा ५० जनाको मृत्यु भएको,१६३ जना गम्भीर घाईते तथा ८०२ जना सामान्य घाईते भएका छन्।
यस्तै,प्रहरीले उक्त अवधिमा २६ सय १६ वटा सचेतना कार्यक्रम संचालन गरेको र मादक पदार्थ सेवनगरि सवारी चलाउने ८४४ जना र लागूपदार्थ सेवन गरि सवारी चलाउने २१ जनालाई मुद्धा चलाईएको जनाएको छ।
अपराध अनुसन्धानतर्फ:
गत आर्थिक वर्षमा अपराध अनुसन्धानतर्फ जम्मा १ हजार ७५ वटा मुद्दा दर्ता गरि अपराधमा संलग्न ९२८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रणतर्फ :
लागूऔषध शिर्षकमा १८८ वटा मुद्दा दर्ता गरी लागूऔषध कारोवारमा संलग्न स्वदेशी पुरुष २५९जना, महिला १७ जना तथा विदेशी पुरुष १२ र महिला १ जना गरि २८९ जनालाई पक्राउ गरिएको छ।
प्रहरीले यस अवधीमा ६ हजार ४ किलो लागूऔषध गाँजा, ५१ किलो ७१० ग्राम चरेश,२६ किलो ८८० ग्राम अफिम,६२८ बोतल कोरेक्स, ९५ हजार २७१ ट्याबलेट/क्यापसुल नाईट्राभेट र ट्रामाडोल, २७ सय ५७ एम्पुल डाईजेपाम, ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हिरोईन र लागूऔषध ओसारपसारमा संलग्न ५५ वटा सवारी साधन बरामद गरेको छ।
यस्तै,४२१ जना प्रहरी परिचालन गरि १२० बिगाहा ४ कठ्ठामा लगाईएको गाँजा र ३९ बिगाहा १४ कठ्ठामा लगाईएको अफिम खेती फडानी गरेको छ।
फैसला कार्यान्वयनतर्फ :
यस्तै,प्रहरीले १८३ जना फरार प्रतिवादी पक्राउ गरेको,
१ करोड २१ लाख ७३ हजार ८०५ रुपैयाँ जरिवाना असुल गरेको र ९९ बर्ष ११ महिना २३ दिन कैद सजाय दिलाएको जनाएको छ।
अवैध गिटि बालुवा नियन्त्रणतर्फ :
अवैध गिटी बालुवा,ढुंगा उत्खननमा संलग्न १६२ ओटा ट्र्याक्टर,३१ ओटा ट्रीप्पर र २ ओटा स्काभेटर गरि कुल १९५ ओटा सवारी साधनलाई कार्वाही गरि ११ लाख १५ हजार ५ सय रुपैयाँ राजश्व असुली गरेको प्रहरीले जनाएको छ।



