साउन१२,हेटौंडा।मकवानपुरको वागमती गाउँपालिका-९ स्थित बेलबास देउजोरमा स्थानीय बासिन्दाको श्रमदान र गाउँपालिकाको प्राविधिक सहयोगमा अस्थायी काठेपुल निर्माण गरिएको छ।
बर्षायाममा देउजोर खोला बढ्दा आवतजावत ठप्प हुने समस्या समाधान गर्न स्थानीयको सक्रियतामा यो काठेपुल निर्माण गरिएको हो।
बर्षायाममा खोलामा पानीको बहाव बढ्दा जिल्लाको बेतिनीसहित रामेछाप र ललितपुरसम्मको यातायात अवरुद्ध हुने र गाउँमै उत्पादित दूध डेरीसम्म पुर्याउन कठिनाइ हुने भएपछि स्थानीय अगुवा नीरबहादुर लोप्चनको नेतृत्वमा पुल निर्माण थालिएको थियो।
लोप्चनका अनुसार, पुल निर्माणका लागि गाउँकै युवादेखि वृद्धसम्मले श्रमदान गरेका छन् भने छिमेकी सामुदायिक वनसँग आर्थिक सहयोगको पहल समेत गरिएको छ।
स्थानीयको सक्रियता, एकता र सामूहिक प्रयासले निर्माण भएको यस काठेपुलले दैनिक आवतजावत, विशेषगरी कृषिजन्य उत्पादनको ढुवानीमा सहजता ल्याउने विश्वास गरिएको छ।



